Breaking Nepal

काठमाडौं / सन् २०२२ को उपविजेता फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुगेको छ। प्रभावशाली प्रदर्शन गरेको स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित उपाधि नजिकको यात्रा तय गरेको हो ।
यसअघि स्पेनले सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो। त्यसयता पहिलो पटक टोलीले पुनः फाइनलमा स्थान सुरक्षित गरेको हो ।
स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले समान एक–एक गोल गरे । खेलको २१औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र लेमिन यामलमाथि फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै ओर्याजबलले टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा पनि स्पेनले खेलमाथिको नियन्त्रण कायम राख्यो। ५८औँ मिनेटमा पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता २–० मा पुर्याए। त्यसपछि ६१औँ मिनेटमा लेमिन यामलले बल जालीमा पुर्याए पनि अफसाइड ठहरिएपछि उक्त गोलले मान्यता पाएन ।
हारसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने अवसरबाट वञ्चित भएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको फ्रान्स पहिलो पटक कुनै गोल गर्न नसकी प्रतियोगिताबाट बाहिरिएको हो ।
अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।