सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त पदाधिकारीले लिए शपथ

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ १८:२२

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया टुंगिएको छ। विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार दुवैलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

विश्वविद्यालय सभाको निर्णयअनुसार सिफारिस समितिले तयार पारेको योग्यताक्रमका आधारमा पहिलो स्थानमा रहेका प्रा. डा. जोशी उपकुलपतिमा नियुक्त भएका हुन्। समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले पेश गरेको प्रतिवेदनका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको थियो।

शपथ ग्रहण कार्यक्रममा मन्त्री पोखरेलले विज्ञहरूको मूल्याङ्कनका आधारमा नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले सम्पन्न भएको बताए। उनले नयाँ नेतृत्वसँगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक संरचना सुदृढ हुने विश्वास व्यक्त गर्दै चालु वर्षभित्रै पठनपाठन र नियमित प्रशासनिक गतिविधि सञ्चालनमा आउने अपेक्षा गरे।

नवनियुक्त उपकुलपति प्रा. डा. जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्य क्षेत्रका अनुभवी विज्ञ हुन्। रजिष्ट्रार डा. चन्दसँग स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासन क्षेत्रमा २५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ। विश्वविद्यालयले नयाँ नेतृत्वसँगै शैक्षिक कार्यक्रम सञ्चालन र संस्थागत विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ।