विपन्न बालबालिकाको शिक्षामा १२ लाखको योगदान गर्ने समाजसेवी दीनबन्धु गोयल सम्मानित

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ १९:१९

विराटनगर / शिक्षा क्षेत्रमा दीर्घकालदेखि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका वरिष्ठ समाजसेवी दिनबन्धु गोयल ‘शिक्षा सम्मान’बाट सम्मानित भएका छन् । विपन्न तथा अवसरबाट वञ्चित बालबालिकाको शिक्षामा निरन्तर सहयोग पुर्‍याएको योगदानको कदर गर्दै सामाजिक संस्था ओमेन्स क्रिएशन (एक प्रयास) ले बुधबार विराटनगरमा आयोजित विशेष समारोहमा उनलाई सम्मान गरेको हो ।

गोयलले ओमेन्स क्रिएशनमार्फत अध्ययनरत ४० बालबालिकामध्ये १० जनाको पाँच वर्षदेखि सम्पूर्ण शैक्षिक खर्च व्यवस्थापनका लागि १२ लाख १ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

सम्मान समारोहमा संस्थाकी अध्यक्ष तथा शिक्षासेवी पुनम जाजोदिया, समाजसेवी पृथ्वीकुमार अग्रवाल, नेपाल अग्रवाल सभा विराटनगरका पूर्वअध्यक्ष, उद्योगी तथा समाजसेवी देवकिनन्दन अग्रवाललगायतले गोयललाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहणपछि गोयलले शिक्षा क्षेत्रमा गरिएको लगानी नै समाजको दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै आर्थिक सम्पन्नताभन्दा मानवीय संवेदनशीलता र सेवाभाव ठूलो सम्पत्ति भएको बताए । “धन भएर मात्रै हुँदैन, समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने मन पनि हुनुपर्छ,” उनले भने ।

उनले आफूले विगत लामो समयदेखि तीन सयभन्दा बढी विद्यार्थीलाई वार्षिक पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै सक्षम नागरिक निर्माणका लागि शिक्षामा गरिने सहयोगलाई सबैभन्दा प्रभावकारी सामाजिक लगानीका रूपमा लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक, पूर्वअध्यक्ष विक्रम निरौला, बन्धु पोखरेललगायतले सामाजिक उत्तरदायित्व र शिक्षामा निजी क्षेत्रको बढ्दो सहभागिताले समावेशी विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

विराटनगर–१० स्थित समाजसेवी पृथ्वीकुमार अग्रवालको निवासबाट सञ्चालन हुँदै आएको ओमेन्स क्रिएशनले हाल ४० भन्दा बढी बालबालिकालाई निःशुल्क ट्युसन सेवा उपलब्ध गराइरहेको छ । साथै २७ जना विद्यार्थीलाई विभिन्न विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।

संस्थामा विराटनगरका औद्योगिक तथा व्यावसायिक क्षेत्रसँग आबद्ध महिलाहरू स्वयंसेवी रूपमा सक्रिय छन् । उनीहरूले नियमित ट्युसन कक्षा, शैक्षिक परामर्श, अध्ययन सामग्री व्यवस्थापन, अभिभावक समन्वय तथा विद्यार्थीको समग्र व्यक्तित्व विकासमा योगदान दिँदै आएका छन् ।

संस्थाकी उपाध्यक्ष पूजा मुन्दडाका अनुसार समाजसेवी, उद्योगी तथा व्यवसायीहरूको सहकार्यबाट विपन्न समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने अभियानलाई अझ व्यापक बनाइनेछ । यस्तो सहकार्यले सामाजिक उत्तरदायित्वको संस्कृतिलाई संस्थागत गर्दै सार्वजनिक–निजी सहकार्यमार्फत शिक्षामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताइन् ।

कार्यक्रमको सञ्चालन पनि उपाध्यक्ष मुन्दडाले गरेकी थिइन्।