साउने संक्रान्ति आज : स्नान, दान र शिव आराधनासँगै ‘लुतो फाल्ने’ परम्परा पनि जीवित

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ ०७:३५

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व शुक्रबार देशभर धार्मिक आस्था, स्नान, दान तथा परम्परागत विधिअनुसार मनाइँदै छ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनका रूपमा मनाइने यो पर्वसँगै दक्षिणायनको सुरुआत भएको धार्मिक विश्वास छ।

वैदिक सनातन परम्परामा दक्षिणायनलाई विशेष महत्वका साथ लिइन्छ। यही दिनदेखि साउन महिना सुरु हुने भएकाले देशभरका शिवालयमा भक्तजनको चहलपहल बढ्न थालेको छ। विशेषगरी पशुपतिनाथसहित प्रमुख शिव मन्दिरमा बिहानैदेखि दर्शन र पूजाआजाका लागि श्रद्धालुको उपस्थिति देखिएको छ।

साउने संक्रान्तिसँग नेपाली समाजमा ‘लुतो फाल्ने’ परम्परा पनि जोडिएको छ। असार महिनाभरि खेतबारीमा हिलोमैलोमा काम गर्दा देखिन सक्ने छालासम्बन्धी समस्या हट्ने जनविश्वासका आधारमा यो परम्परा मनाइँदै आएको हो।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी अगुल्टो फाल्ने चलन छ। केही समुदायमा नांलो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने र घरको ढोका बन्द गर्ने परम्परा पनि कायम छ।

साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले यस अवधिभर व्रत, पूजा तथा धार्मिक गतिविधि बढ्ने गर्छ। महिलाले हरियो चुरा, पोते र हरियो वस्त्र धारण गर्ने परम्पराले पनि साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने विश्वास गरिन्छ।