मनसुन सक्रिय : आज पनि देशभर वर्षा, पाँच प्रदेशमा भारी पानीको चेतावनी

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ ०७:४३

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ भने विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले पहाडी भू–भागका अधिकांश स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। तराईका विभिन्न जिल्लामा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ।

पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका नदी, खोला र पहिरो जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ। लगातारको वर्षाले सडक यातायात, जनजीवन र कृषि गतिविधिमा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली कायम रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी र मधेश प्रदेशका पहाडी तथा तराई भू–भाग तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु र स्थानीय तहलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।