कोशीको राजनीतिमा नयाँ मोड, कांग्रेस सरकारबाट बाहिरिने सम्भावना

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ ०७:५९

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट शुक्रबार बाहिरिने सम्भावना बलियो बनेको छ। नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने पार्टीको केन्द्रीय निर्णयपछि प्रदेशमा पनि नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको हो।

कांग्रेसले सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय शुक्रबार गर्ने जनाएको छ। बिहीबार बसेको कोशी प्रदेश कार्यदलको बैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय नगरी राजनीतिक अवस्थाको थप मूल्यांकन गर्ने निष्कर्ष निकालेको थियो। बैठकले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई परिस्थितिको विश्लेषण गरी अन्तिम निर्णय गर्ने अधिकारसमेत दिएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार कोशी प्रदेश सरकार संविधानको धारा १६८ (५) अन्तर्गत गठन भएकाले यहाँको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक छ। यही संवैधानिक अवस्थालाई ध्यानमा राख्दै तत्काल मन्त्री फिर्ता नबोलाई थप परामर्शपछि निर्णय गर्ने रणनीति अपनाइएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिले बुधबार सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरिसकेको छ। तर, कोशी प्रदेशमा केन्द्रको औपचारिक परिपत्र प्राप्त हुन बाँकी रहेको र नयाँ राजनीतिक समीकरणको सम्भावनाबारे आन्तरिक छलफल जारी रहेकाले निर्णय केही समय पछि सारिएको बताइएको छ।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसबाट पाँच जना मन्त्री सहभागी छन्। प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री तथा शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री छन्।

कांग्रेसले शुक्रबार लिने निर्णयले कोशी प्रदेशको सत्ता समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ। एमालेसँगको सहकार्य औपचारिक रूपमा अन्त्य भए सरकारको स्थायित्व र नयाँ गठबन्धनको दिशा थप स्पष्ट हुने राजनीतिक वृत्तको विश्लेषण छ।