Breaking Nepal

धरान । धरान–८ को तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्माण गरिएको स्मार्ट बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएपछि सार्वजनिक यातायातको केन्द्र नयाँ बसपार्कतर्फ सरेको छ। टिकट काउन्टर र सार्वजनिक सवारीसाधन स्थानान्तरण भएसँगै वर्षौंदेखि बसपार्कका रूपमा परिचित भानुचोक–घण्टाघर क्षेत्रको चहलपहल उल्लेख्य रूपमा घटेको छ भने नयाँ बसपार्क यात्रु र सवारीसाधनको मुख्य गन्तव्य बन्न थालेको छ।
धरान उपमहानगरपालिकाले असार १३ गते नयाँ बसपार्कको औपचारिक उद्घाटन गर्दै पुरानो बसपार्क स्थानान्तरणको घोषणा गरेको थियो। प्रारम्भमा केही यातायात व्यवसायीले नयाँ स्थानमा सवारी सञ्चालन गर्न अनिच्छा देखाए पनि उपमहानगरपालिका, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीचको समन्वयपछि बसपार्क नियमित सञ्चालनमा आएको हो।
बसपार्क सञ्चालनका फोकल पर्सन खगेन्द्र खतिवडाका अनुसार अहिले पहाडी रुट, पूर्व–पश्चिम, विराटनगर रुटका सार्वजनिक सवारीसाधन तथा रातो नम्बर प्लेटका सवारीसाधन भानुचोक–घण्टाघर क्षेत्रमा पार्किङ गर्न रोक लगाइएको छ। यससँगै सार्वजनिक यातायातको सम्पूर्ण गतिविधि नयाँ बसपार्कमा केन्द्रित भएको छ।
बसपार्क स्थानान्तरणपछि लामो समयदेखि ट्राफिक जाम र पार्किङ समस्याले ग्रस्त रहेको भानुचोक, देशीलाइन र पुतलीलाइन क्षेत्र खुला र व्यवस्थित देखिन थालेका छन्। करिब पाँच दशकअघि सीमित सवारीसाधनलाई लक्षित गरेर निर्माण गरिएको पुरानो बसपार्क पछिल्ला वर्षहरूमा सार्वजनिक तथा निजी सवारी, यात्रु र सिटी सफारीको अत्यधिक चापका कारण व्यवस्थापन गर्न कठिन बन्दै गएको थियो।
विशेषगरी रिक्साको स्थानमा एक हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा आएपछि भानुचोक क्षेत्रको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। नयाँ बसपार्क सञ्चालनसँगै ती समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
यद्यपि, बसपार्क स्थानान्तरणको प्रत्यक्ष असर पुरानो बसपार्क आसपासका व्यापारिक गतिविधिमा देखिन थालेको छ। यात्रुको आवागमन घटेसँगै भानुचोक क्षेत्रका होटल, पसल तथा साना व्यवसायीको कारोबार प्रभावित हुन सक्ने व्यवसायीहरूको चिन्ता छ।
नयाँ बसपार्क २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँको लागतमा निर्माण गरिएको हो। सुनसरीको दुहबीस्थित एम/एस बिकोइ गिताञ्जली जेभीले २०८१ असारभित्र निर्माण सम्पन्न गरेको यो आयोजना तीनकुने सुन्दर बस्ती विकास योजनाअन्तर्गत ल्याण्ड पुलिङ प्रणालीबाट एकीकृत गरिएको २७ कट्टा क्षेत्रफलमा विकसित गरिएको हो। आयोजनाका लागि स्थानीय जग्गाधनीको सहमतिपछि सरकारको समपूरक अनुदानबाट ५० प्रतिशत र बाँकी ५० प्रतिशत धरान उपमहानगरपालिकाले लगानी गरेको थियो।
बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा इटहरीस्थित ब्रदर्स ट्रेडर्सलाई वार्षिक एक करोड दुई लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्कामार्फत दिइएको छ। नयाँ संरचनामा एकैपटक ३८ वटा ठूला बस तथा १८ वटा जिप, ल्यान्डरोभर र ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको उपमहानगरपालिकाले जनाएको छ।
नयाँ बसपार्क सञ्चालनसँगै धरानको सार्वजनिक यातायात व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। अर्कोतर्फ, पुरानो बसपार्क क्षेत्रको आर्थिक गतिविधिलाई कसरी पुनर्जीवित गर्ने भन्ने चुनौती भने स्थानीय सरकारसामु थपिएको छ।