अवकाशप्राप्त करार कर्मचारी आजदेखि बिदाइ, अन्यलाई ‘पूल’मा राखेर व्यवस्थापन गरिने

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ १३:३५

काठमाडौं– सरकारले सरकारी सेवाबाट अवकाश, उपदान वा निवृत्तिभरण प्राप्त गरिसकेका करार कर्मचारीलाई शुक्रबारदेखि सेवा निरन्तरता नदिने निर्णय कार्यान्वयनमा ल्याएको छ। साथै हाल विभिन्न सरकारी निकायमा कार्यरत अन्य करार कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै ‘पूल’मा राखेर व्यवस्थापन गरिने भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई सातबुँदे परिपत्र जारी गर्दै करार कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएका छन्।

परिपत्रअनुसार हाल कार्यरत करार कर्मचारीसँग सम्बन्धित निकायले करार सम्झौता नवीकरण गरी उनीहरूलाई ‘पूल’मा राख्नेछ भने यसको एकीकृत अभिलेख सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्नेछ।

सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले आवश्यकताअनुसार पूलमा रहेका कर्मचारीलाई काममा खटाउने व्यवस्था गरिएको छ। नयाँ स्थापना हुने कार्यालयमा सिर्जना हुने दरबन्दी वा अन्य निकायमा रिक्त हुने स्वीकृत पदमा करार कर्मचारी आवश्यक परे नयाँ नियुक्ति नगरी पूलमा रहेका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी काममा लगाउनुपर्नेछ।

सरकारले मन्त्रालयअन्तर्गत एकीकरण वा खारेजीको प्रक्रियामा रहेका निकायमा भने प्रक्रिया पूरा नभएसम्म सम्पत्ति संरक्षण, सुरक्षा, दायित्व हस्तान्तरण तथा फरफारकका लागि आवश्यक न्यूनतम जनशक्ति सोही निकायमा कार्यरत करार कर्मचारीबाटै व्यवस्थापन गर्न सकिने व्यवस्था गरेको छ।

पूलमा रहने करार कर्मचारीको दीर्घकालीन व्यवस्थापन, भविष्यमा गरिने करार सम्झौताका न्यूनतम सेवासुविधा तथा स्वीकृत दरबन्दीअनुसार व्यवस्थापन हुन नसकी करार अन्त्य गर्नुपरे उपलब्ध गराइने सुविधाबारे एक महिनाभित्र अध्ययन गरी उपयुक्त विकल्प सिफारिस गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ।

सरकारले गत असार ३२ गतेको मन्त्रिपरिषद् बैठकबाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा कटौती हुने दरबन्दीमा कार्यरत करार कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनस्वरूप नयाँ परिपत्र जारी गरिएको हो।