२०५० सम्म क्षयरोग उन्मूलन चुनौतीपूर्ण, समुदाय र लैङ्गिक समानतामा जोड

Breaking Nepal

pen
अनुज सापकोटा
शुक्रबार ,साउन १ , २०८३ १४:२४

विराटनगर / ‘क्षयरोगमा सामुदायिक अधिकार तथा लैङ्गिक सिद्धान्त सम्बन्धी’ दुईदिने तालिम बुधबारदेखि विराटनगरमा सुरु भएको छ। नेपाल क्षयरोग निवारण संस्थाको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा यूएनडिपीका प्रदेश प्रमुख दीपक भट्टले नेपालले सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखे पनि विद्यमान सामाजिक अवस्था र चुनौतीका कारण लक्ष्य हासिल गर्न सहज नरहेको बताए। उनका अनुसार क्षयरोगीप्रति हुने सामाजिक लाञ्छना, विभेद तथा लैङ्गिक असमानताले उपचार प्रक्रिया र रोग नियन्त्रण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याइरहेको छ।

बीएनएमटीका रामप्रसाद कोइरालाले क्षयरोग नियन्त्रण सरकार वा स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी नभई समुदायको पनि साझा दायित्व भएको उल्लेख गरे। उनले जनचेतना अभिवृद्धि, समयमै परीक्षण र उपचारमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख डा. दिलीप यादवले महानगरपालिकाले क्षयरोग उन्मूलनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले नेपाल–भारत खुला सीमाका कारण क्षयरोग नियन्त्रण अभियान थप चुनौतीपूर्ण बनेको बताए।

राष्ट्रिय स्वास्थ्य निर्देशनालय धनकुटाका तुलसीप्रसाद गुरागाईंले अहिले पनि शिक्षित समुदायमा समेत क्षयरोग लुकाउने प्रवृत्ति रहेको उल्लेख गर्दै सामाजिक विभेद अन्त्य नगरी रोग नियन्त्रण सम्भव नहुने बताए। उनले समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङका कार्यवाहक अध्यक्ष भैरव क्षेत्रीले कोशी अस्पतालले हालै नाटा मोरङको संरचना हटाएको घटनाप्रति आपत्ति जनाए। उनले क्षयरोगीको सेवामा लामो समयदेखि सक्रिय संस्थाको संरचना हटाउँदा संस्थाका संस्थापक र सेवामा समर्पित व्यक्तिहरूको योगदानमाथि चोट पुगेको बताए। उनले सम्बन्धित निकायले संस्थाको उचित व्यवस्थापन गर्नुपर्ने माग गरे।

नाटाका केन्द्रीय कार्यवाहक अध्यक्ष राजन श्रेष्ठले नाटा मोरङलाई बेइज्जतीपूर्ण ढंगले विस्थापित गर्न खोजिएको आरोप लगाउँदै संस्थामाथि आधारहीन आरोप लगाएर सेवाभावी अभियानलाई कमजोर बनाउने प्रयास भएको बताए। उनले नाटाले वर्षौंदेखि क्षयरोगीको सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय कोषाध्यक्ष राजकिशोर यादवले क्षयरोग न्यूनीकरणका लागि नाटा मोरङले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै केन्द्रबाट निरन्तर सहयोग रहने बताए।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले क्षयरोग नियन्त्रण तथा उन्मूलनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले नाटा मोरङको व्यवस्थापनका लागि पनि प्रदेश सरकार आवश्यक पहल गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रमको सञ्चालन नाटा मोरङका सचिव भविष श्रेष्ठले गरेका थिए। दुईदिने तालिममा समुदायको भूमिका, क्षयरोगीको अधिकार, लैङ्गिक समानता तथा भेदभाव न्यूनीकरणका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।