Breaking Nepal

विराटनगर / विराटनगरमा क्लिनिक सञ्चालन गर्दै आएका एक चिकित्सकले कुटपिट गरी घरबाट निकालेको आरोप उनका ७२ वर्षीय बाबुले लगाएका छन् । यद्यपि आरोपित चिकित्सकले भने सबै आरोप अस्वीकार गर्दै अदालतबाट सम्बन्धित विषय टुंगो लागिसकेको दाबी गरेका छन् ।
विराटनगर–१५ पारिजात टोलका स्थायी बासिन्दा खेमबहादुर लोहनी हाल सुनसरीको दुहबी–३ मियाँ टोलस्थित एक गोठमा बस्दै आएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले कान्छो छोरा डा. विप्रराज लोहनीले कुटपिट गरी घरबाट निकालेको, सम्पत्तिबाट वञ्चित गरेको तथा मानसिक यातना दिएको आरोप लगाए ।
खेमले आफूले जीवनभरको कमाइ र सम्पत्ति सन्तानको शिक्षादिक्षामा खर्चिएको बताउँदै अन्ततः आफ्नै घरबाट विस्थापित हुनुपरेको पीडा सुनाए ।
उनका अनुसार जेठा छोरा रनिराजलाई होटल व्यवस्थापन र कान्छा छोरा विप्रराजलाई एमबीबीएस अध्ययन गराउन आफूले ठूलो लगानी गरेका थिए। छोरीलाई पनि एयर होस्टेससम्मको शिक्षा दिलाएको उनले बताए। हाल जेठा छोरा दुबई र छोरी अस्ट्रेलियामा बस्दै आएका छन् ।
पूर्व शिक्षासेवीसमेत रहेका खेम विराटनगर–१५ स्थित राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक सञ्चालक हुन् । उनले आफू समाजमा प्रतिष्ठित व्यक्तिका रूपमा चिनिए पनि परिवारबाटै अपमानित र उपेक्षित हुनुपरेको गुनासो गरे ।
उनका अनुसार २०५६ सालतिर पारिजात टोलमा घर निर्माण गरेका थिए। सन्तानको शिक्षादिक्षाका लागि आर्थिक व्यवस्थापन गर्ने क्रममा २०७५ वैशाख २ गते ३५ लाख रुपैयाँ ऋण लिएर उक्त घरजग्गा एक पक्षका नाममा पास गरिएको थियो । बाबुको माया र छोराको भविष्यका लागि आफूले सम्पत्तिसम्बन्धी निर्णय गरेको भए पनि पछि त्यही सम्पत्ति आफ्नो विरुद्ध प्रयोग भएको उनको आरोप छ ।
खेमले श्रीमती सुधा लोहनीले पनि आफूलाई निरन्तर मानसिक तथा पारिवारिक यातना दिएको आरोप लगाए । श्रीमतीको प्रभावमा परेर छोराछोरीले आफूलाई अपमानित गर्ने र अमानवीय व्यवहार गर्ने गरेको उनको दाबी छ । आफू विभिन्न रोगबाट पीडित रहे पनि परिवारले लालनपालन र उपचारको व्यवस्था नगरेको उनले बताए ।
न्यायिक समितिको आदेश कार्यान्वयन नभएको दाबी
खेमले २०७४ सालमा श्रीमती सुधा, जेठा छोरा रनिराज र कान्छा छोरा विप्रराजविरुद्ध विराटनगर महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।
उजुरीमा उनले २०७२ असार २० गते घरेलु हिंसा गर्दै घरबाट निकालेको, बसोबास, खानपिन तथा उपचारबाट समेत वञ्चित गरिएको उल्लेख गरेका थिए । साथै घरमा सुरक्षित रूपमा बस्न पाउने, सम्मानपूर्वक व्यवहार हुने र भरणपोषणको व्यवस्था गरिदिन माग गरेका थिए ।
उनका अनुसार प्रतिवादी पक्षले समितिबाट पठाइएको पत्रको बेवास्ता गरेपछि तत्कालीन उपमेयर तथा न्यायिक समिति संयोजक इन्दिरा कार्कीको इजलासले २०७५ वैशाख २० गते अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा खेमलाई पारिजात टोलस्थित निवासमा बस्न दिन, सम्मानपूर्वक खान–लाउन र स्वास्थ्य उपचारको व्यवस्था गर्न भनिए पनि उक्त आदेश हालसम्म कार्यान्वयन नभएको उनको दाबी छ ।
खेमले जेष्ठ नागरिक ऐन, २०६३ बमोजिम आफ्नो मञ्जुरीबिनाको नामसारी लिखत बदर गर्न, घरमा सुरक्षित बसोबासको वातावरण मिलाउन तथा भरणपोषणको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
घरबाट विस्थापित भएपछि ट्युसन पढाएर जीवनयापन गर्दै आएको उल्लेख गर्दै उनले उमेरसँगै आम्दानीको स्रोत पनि घट्दै गएको बताए। “आफ्नै घरबाट आफैं लखेटिनुपर्नुभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ?” उनले भावुक हुँदै भने ।