Breaking Nepal

झापा / झापामा पछिल्लो समय बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा अन्य वित्तीय अपराधका घटना उल्लेख्य रूपमा बढेका छन्। डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बने पनि त्यसको दुरुपयोग गर्दै हुने वित्तीय अपराधले नयाँ चुनौती थपेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा झापामा बैंकिङ कसुर, ठगी, आपराधिक लाभ तथा अनलाइन सट्टेबाजीसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २७० वटा फर्छ्योट भएका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।
उक्त अवधिमा वित्तीय अपराधमा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार छन्। फरार व्यक्तिको खोजीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० वटा फर्छ्योट भएका छन् भने ७४ वटा मुद्दा बाँकी छन्। बैंकिङ कसुरका घटनामा संलग्न ९९ जना पक्राउ परेका छन्।
ठगीसम्बन्धी ६५ वटा मुद्दा दर्ता भएकोमा ४० वटा फर्छ्योट भएका छन् भने २५ वटा मुद्दा बाँकी छन्। ठगीका घटनामा ३९ जना पक्राउ परेका छन्।
यस्तै, आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा दर्ता भएकोमा ८ वटा फर्छ्योट भएका छन् भने ४ वटा अनुसन्धानकै क्रममा छन्। यस प्रकारका घटनामा १५ जना पक्राउ परेका छन्।
अनलाइन सट्टेबाजीका दुई वटा मुद्दा दर्ता भएका थिए। दुवै मुद्दा फर्छ्योट भइसकेका छन् भने घटनामा संलग्न दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत भुक्तानी, डिजिटल वालेट, ई–कमर्स तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै वित्तीय अपराधको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। प्रविधिको प्रयोग गरेर अपराध गर्ने समूहले अत्याधुनिक प्रणालीभन्दा पनि व्यक्तिको विश्वास, लोभ, डर र उत्सुकतालाई मुख्य माध्यम बनाउने गरेको अनुसन्धानबाट खुलेको छ।
सीमापार सञ्चालित सर्भर, भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन), क्रिप्टोकरेन्सी, डिजिटल वालेट, नक्कली डिजिटल परिचय, एजेन्ट नेटवर्क तथा बहुस्तरीय वित्तीय कारोबारको प्रयोगमार्फत वास्तविक परिचय र कारोबार लुकाएर ठगी गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको प्रहरीको निष्कर्ष छ।
डीएसपी अवाले डिजिटल प्रविधिको विस्तारले आर्थिक कारोबारलाई छिटो, सहज र समावेशी बनाए पनि त्यसैसँगै अनलाइन जुवा, सट्टेबाजी, नक्कली लगानी योजना, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग बढेको बताए। यस्ता गतिविधिले नागरिकको आर्थिक सुरक्षामात्र होइन, राष्ट्रिय वित्तीय प्रणाली, साइबर सुरक्षा, सुशासन र कानुनी शासनमा समेत चुनौती सिर्जना गरिरहेको उनको भनाइ छ।
प्रहरीका अनुसार अधिकांश पीडितले ठगी भएको थाहा पाएर उजुरी दर्ता गर्दासम्म रकम विभिन्न बैंक, डिजिटल वालेट वा अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमार्फत विदेशसम्म स्थानान्तरण भइसकेको हुन्छ। त्यसैले कुनै पनि प्रकारको डिजिटल वा वित्तीय ठगी भएको आशंका लाग्नेबित्तिकै तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरिएको छ।
वित्तीय तथा साइबर अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न विद्यालय, संघसंस्था र समुदायमा वित्तीय तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।