कोलकाता–विराटनगर प्रत्यक्ष कार्गो रेल सेवा सञ्चालन आएपछि पूर्वका उद्योगी के भन्छन् ?

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ १३:१३

विराटनगर / भारतको कोलकाता बन्दरगाहबाट नेपालस्थित विराटनगर एकीकृत जाँच चौकी (आईसीपी) सम्म पहिलोपटक प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी उत्साहित बनेका छन् ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर भन्सार यार्डमा आइपुगेसँगै पूर्वी नेपालको उद्योग–व्यापार क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको उद्योगी–व्यवसायीको भनाइ छ ।

गत शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल सोमबार विराटनगर आइपुगेको हो । नियमित सेवाअन्तर्गत आएको पहिलो रेलले स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याएको हो । विराटनगर आईसीपीमा औपचारिक कार्यक्रमबीच सेवाको शुभारम्भ गरिएको छ ।

यसअघि तेस्रो मुलुकबाट आयात गरिएका सामान भारतीय बथनाहासम्म रेलमार्फत ल्याइन्थ्यो । त्यसपछि ट्रकमार्फत विराटनगर भन्सार यार्डसम्म ढुवानी गर्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थासँगै रेल सिधै नेपालस्थित आईसीपीसम्म आउन थालेपछि ढुवानी प्रक्रियामा हुने दोहोरो ह्यान्डलिङ अन्त्य हुने, समय र लागत उल्लेख्य रूपमा घट्ने तथा आपूर्ति प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रेल सेवा सञ्चालनले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पनि पाउने बताए ।
उनका अनुसार नयाँ सेवाले ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुनेछ । सडकमार्गबाट पाँचदेखि सात दिन लाग्ने ढुवानी अब २४ देखि ७२ घण्टाभित्र सम्पन्न गर्न सकिने विश्वास गरिएको छ । यसले उद्योगको उत्पादन लागत घटाउन, कार्यशील पुँजीको चाप कम गर्न र समयमै कच्चा पदार्थ उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन सारडाले यसले मोरङ–सुनसरी औद्योगिक करिडोरलाई नयाँ गति दिने र पूर्वी नेपालको औद्योगिक विस्तारमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परीक्षणपछि लामो समय रोकिएको सेवा नियमित सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै यसको निरन्तरता र नियमित तालिकामा सञ्चालन सुनिश्चित गर्नुपर्ने बताए । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले उद्योगीलाई सेवा प्रयोग गर्न प्रोत्साहन गर्दै पूर्वाधार तथा प्रशासनिक प्रक्रियालाई थप सहज बनाउनुपर्ने बताए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रत्यक्ष कार्गो रेल सेवा सञ्चालन उद्योग, व्यापार तथा समग्र अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार भारतका बन्दरगाहबाट विराटनगर आईसीपीसम्म प्रत्यक्ष रेल सेवा सञ्चालन गर्नुपर्ने माग संघले करिब एक दशकदेखि निरन्तर उठाउँदै आएको थियो ।

उनले आवश्यक रेल पूर्वाधार तीन वर्षअघि नै निर्माण सम्पन्न भई परीक्षणसमेत गरिएको भए पनि नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा रहेका नीतिगत व्यवस्थाका कारण सेवा नियमित सञ्चालन हुन नसकेको उल्लेख गरे । त्यसबेला सन्धिअन्तर्गत कोइला, क्लिंकर, मल र नुन गरी सीमित वस्तु मात्रै बल्क रेलमार्फत ल्याउन मिल्ने व्यवस्था रहेकाले अन्य औद्योगिक कच्चा पदार्थ तथा कन्टेनर रेलमार्फत आयात गर्न सम्भव थिएन ।

विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) प्रयोग हुने भएकाले ढुवानीको सुरक्षा पनि बढ्ने अपेक्षा गरिएको छ । यस प्रणालीमार्फत मोबाइलबाटै कार्गोको अवस्थाबारे निगरानी गर्न सकिने, चोरी तथा क्षतिको जोखिम घट्ने, बन्दरगाहमा लाग्ने डेमरेज र डिटेन्सन शुल्क कम हुने तथा सम्पूर्ण आपूर्ति शृङ्खला थप पारदर्शी बन्ने विश्वास गरिएको छ ।

उद्योगीका अनुसार प्रत्यक्ष रेल सेवाले आयात मात्र नभई आगामी दिनमा विराटनगर औद्योगिक क्षेत्रका उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात गर्नसमेत सहज वातावरण बनाउनेछ । ढुवानी लागत र समय घट्दा नेपाली उद्योगको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढ्ने, निर्यातमुखी उद्योग आकर्षित हुने तथा सिपिङ कम्पनीहरूले विराटनगरमै आफ्नो सेवा विस्तार गर्ने सम्भावना बलियो बनेको छ ।

यसअघि कोलकातामा आयोजित विशेष कार्यक्रममा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिले हरियो झण्डा देखाएर कार्गो रेललाई
विराटनगरका लागि बिदाइ गरेका थिए । सोमबार रेल विराटनगर भन्सार यार्डमा आइपुगेपछि स्वागत गरिएको थियो भने मंगलबार औपचारिक रूपमा सेवा सञ्चालनको घोषणा गरिएको हो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो औद्योगिक करिडोर मानिने मोरङ–सुनसरी क्षेत्रमा खाद्य, तेल, स्टिल, प्लास्टिक, रसायन, वस्त्र, औषधि र अन्य उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । ती उद्योगले प्रयोग गर्ने अधिकांश कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात हुने भएकाले प्रत्यक्ष रेल सेवा सञ्चालनले उद्योगको लागत संरचनामा सुधार ल्याउने, आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने र समग्र औद्योगिक वातावरणलाई प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।

यस औद्योगिक क्षेत्रमा साना–ठूला गरी ६ सयभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् । जसमा ८० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।