Breaking Nepal

ताप्लेजुङ / लगातारको वर्षापछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा गएको पहिरोले दुई घरमा ठूलो क्षति पुर्याएको छ। मङ्गलबार बिहान गएको पहिरोका कारण एक घर पूर्ण रूपमा बगेको छ भने अर्को घर बस्न नमिल्ने अवस्थामा पुगेको छ। समयमै परिवारका सदस्य सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति भने हुन पाएन।
साब्लाखु प्रहरी चौकीका अनुसार पहिरोले स्थानीय जीवनाथ बानियाँ र मेहरमान बानियाँको घरमा क्षति पुर्याएको हो। वडा सदस्य टइन्द्रप्रसाद चापागाईंका अनुसार जीवनाथको घर पूर्ण रूपमा बगेको छ भने मेहरमानको घर संरचनागत रूपमा क्षतिग्रस्त भएकाले बस्न नमिल्ने भएको छ।
जीवनाथको घरमा उनकी बुहारी सीता र एक नातिनी मात्रै बस्दै आएका थिए। उनीहरू सोमबार नै आफन्त दिलबहादुर बानियाँको घरमा सरेका कारण ठूलो दुर्घटना टरेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। हाल सीता आफ्नी नाबालिका छोरीसहित आफन्तकै घरमा आश्रय लिएर बसेकी छन्।
यस्तै, मेहरमानको सात सदस्यीय परिवार पनि सुरक्षित स्थानमा रहेको आफ्नै पशु गोठमा बस्दै आएको छ।
पहिरोले जीवनाथको घरसँगै घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सामग्रीसमेत बगाएको छ। प्रारम्भिक विवरणअनुसार घर संरचना र सामग्रीसहित करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
मेहरमानको घरभित्र रहेका सामग्री भने समयमै बाहिर निकाल्न सकिएकाले क्षतिको परिमाण केही कम भएको छ। उनको घरमा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको छ।
स्थानीयका अनुसार पहिरोले मकै, अलैँचीलगायत खाद्यान्न तथा नगदेबालीमा समेत क्षति पुर्याएको छ। कृषि क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।
घटनापछि साब्लाखु प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पदमबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा क्षतिको विवरण संकलन गरेको छ। पहिरो प्रभावित कालिखोला क्षेत्र साब्लाखुबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्छ।