Breaking Nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको साङ्गठनिक सुदृढीकरण, जनआन्दोलनको विस्तार र संगठन निर्माणलाई वर्तमान राजनीतिक कार्यदिशाको केन्द्रमा राखिएको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मधेशमा पार्टीलाई मजबुत बनाउन सकिए त्यसले समग्र कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिलाई नयाँ ऊर्जा दिने, तर संगठन कमजोर भए त्यसको नकारात्मक असर देशव्यापी रूपमा पर्ने चेतावनी दिए।
उनले पार्टीभित्र कार्य विभाजन र जिम्मेवारी बाँडफाँडका क्रममा केही असन्तुलन भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने संकेत गरे। नेता तथा कार्यकर्ताबाट आएका गुनासा, सुझाव र असन्तुष्टिलाई गम्भीर रूपमा लिइने उल्लेख गर्दै कार्य विभाजनको पुनरावलोकन गरी आवश्यक समायोजन गरिने बताए।
प्रचण्डले संगठनलाई प्रभावकारी बनाउन नेतृत्व र कार्यकर्ताबीचको समन्वय, स्पष्ट जिम्मेवारी र सक्रिय परिचालन अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीलाई जनतामाझ थप सशक्त रूपमा स्थापित गर्न सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.








