Breaking Nepal

काठमाडौं । मनसुन सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता, आठ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार उक्त अवधिमा सबैभन्दा धेरै १९ वटा पहिरोका घटना दर्ता भएका छन्। त्यसपछि ९ वटा आगलागी, ८ वटा सर्पदंश, ३ वटा वन्यजन्तुको आक्रमण, २ वटा बाढी तथा १–१ वटा चट्याङ र हावाहुरीका घटना भएका छन्।
विपद्का कारण देशभर ३०२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। यस्तै १५ वटा चौपाया नष्ट भएका छन् भने सात स्थानमा सडक अवरुद्ध हुँदा आवागमन प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ३३ लाख १० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
बुलेटिनअनुसार विपद्को असर ४४ जिल्लामा देखिएको छ। सर्पदंशका घटना आठ जिल्लामा र पहिरोका घटना १४ जिल्लामा केन्द्रित रहेका छन्।
मनसुन अझै सक्रिय रहेकाले बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिम उच्च रहने भन्दै प्राधिकरणले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती र यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।