Breaking Nepal

इटहरी / दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत सञ्चारकर्मी रबिन्द्रकुमार चौधरीले दुर्घटना बिमाबापतको रकम प्राप्त गरेका छन्। नयन मिडिया फाउन्डेसनले सञ्चालन गरेको निःशुल्क दुर्घटना बिमा कार्यक्रमअन्तर्गत चौधरीलाई ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको हो।
बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा आयोजित कार्यक्रममा नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी र बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बिमा दाबी रकम प्रदान गरेका हुन्।
कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बिमा रकमले घाइते सञ्चारकर्मीलाई उपचार तथा अन्य खर्च व्यवस्थापनमा सहयोग पुगेको बताए।
उनले सञ्चारकर्मीको सुरक्षालाई केन्द्रमा राखेर नयन मिडिया फाउन्डेसनले सञ्चालन गरेको निःशुल्क दुर्घटना बिमा कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गरे। यस्ता अभियानले सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिलाई थप सुरक्षित, उत्साहित र आत्मविश्वासी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
नयन मिडिया फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को अवसर पारेर सुनसरीमा कार्यरत सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्दै आएको छ।
फाउन्डेसनका बिमा संयोजक देवराज पुरीका अनुसार चालु वर्ष सुनसरीका ३१४ जना सञ्चारकर्मीको दुर्घटना बिमा गरिएको छ। सञ्चारकर्मीको पेशागत जोखिमलाई मध्यनजर गर्दै सुरु गरिएको उक्त अभियानले दुर्घटनामा परेका पत्रकार तथा सञ्चारकर्मीलाई आर्थिक राहत प्रदान गर्नुका साथै पेशाप्रतिको सुरक्षा भावना र मनोबल बढाउन योगदान पुर्याएको फाउन्डेसनले जनाएको छ।
सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षालाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउँदै आएको फाउन्डेसनले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।