Breaking Nepal

काठमाडौं / व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतमा उपस्थित नभएपछि अग्रवाललाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
सीआईबीका अनुसार अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको छ। यसअघि उनी हाजिरी जमानीमा छुटेका थिए। तर, अदालतको आदेशअनुसार उपस्थित नभएपछि पुनः पक्राउ गरिएको हो।
यस प्रकरणमा अग्रवालका छोरा शुलभ अग्रवाल यसअघि नै पुर्पक्षका लागि थुनामा छन्। सोही मुद्दामा व्यवसायी दीपक भट्ट पनि न्यायिक हिरासतमा रहेका छन्।
शंकर ग्रुपसँग सम्बन्धित कारोबार तथा वित्तीय गतिविधिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो। सोही अनुसन्धानका आधारमा मुद्दा दर्ता भएपछि अग्रवाल परिवारका सदस्यहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढेको हो।
सीआईबीले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा शंकरलाललाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउसँगै उनीविरुद्धको मुद्दाको थप न्यायिक प्रक्रिया अघि बढ्ने भएको छ।