Breaking Nepal

विराटनगर / पशुधनमा फैलिने लम्की स्किन डिजिजको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरभर खोप अभियान सुरु गरेको छ । अभियानअन्तर्गत महानगरका १९ वटै वडाका पशुहरूलाई चरणबद्ध रूपमा लम्की रोगविरुद्धको खोप लगाइँदैछ ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाका संयोजक हिरालाल यादवका अनुसार अभियानलाई प्रभावकारी बनाउन नगरलाई उत्तरी, मध्य र दक्षिणी गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । सोही कार्ययोजनाअनुसार प्राविधिक टोली परिचालन गरी खोप लगाउने कार्य अघि बढाइएको छ ।
महानगरले यस चरणमा १ हजार ३ सय डोज खोप उपलब्ध गराएको जनाएको छ । उपलब्ध खोपका आधारमा बढी जोखिम रहेका क्षेत्र र पशुधनको घनत्व बढी भएका स्थानलाई प्राथमिकतामा राख्दै गाई, गोरु तथा भैँसीमा खोप लगाइने तयारी गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास शाखाका अनुसार लम्की रोग पछिल्ला केही वर्षयता देशका विभिन्न जिल्लामा फैलिँदै आएको छ । संक्रमण फैलिएपछि पशुमा ज्वरो आउने, शरीरभर गाँठागुँठी देखिने, दूध उत्पादन घट्ने, तौल कम हुने तथा गम्भीर अवस्थामा पशुको मृत्यु समेत हुन सक्ने भएकाले समयमै खोप लगाउनु नै सबैभन्दा प्रभावकारी रोकथामको उपाय मानिन्छ ।
महानगरले खोप अभियानसँगै पशुपालकलाई रोगको पहिचान, रोकथाम तथा पशु स्वास्थ्य व्यवस्थापनसम्बन्धी जनचेतनामूलक जानकारी पनि प्रदान गरिरहेको जनाएको छ । कुनै पशुमा लम्की रोगसँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल नजिकको पशु सेवा केन्द्र वा प्राविधिकलाई जानकारी गराउन आग्रह गरिएको छ ।
संयोजक यादवले खोप अभियानलाई सफल बनाउन पशुपालकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै खोप लगाउने टोली आफ्नो क्षेत्रमा पुग्दा पशु उपलब्ध गराइदिन आग्रह गरे । उनका अनुसार सबै लक्षित पशुलाई सुरक्षित रूपमा खोप उपलब्ध गराउने गरी प्राविधिक टोली परिचालन गरिएको छ ।
महानगरपालिकाले नियमित रूपमा पशु स्वास्थ्य सेवा, उपचार, रोग निगरानी तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसपटकको अभियानले लम्की रोगको संक्रमण नियन्त्रण गर्नुका साथै पशुपालक किसानको आर्थिक क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास शाखाले पशुधनमा देखिन सक्ने अन्य संक्रामक रोगको निगरानीलाई समेत सुदृढ बनाउँदै आवश्यक परे थप खोप तथा प्राविधिक सेवा विस्तार गर्ने जनाएको छ । महानगरका अनुसार पशुधनको स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र किसानको आय सुरक्षित बनाउने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।