Breaking Nepal

काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि राजनीतिक प्रहार गरेको छ।
कांग्रेसले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीलाई ‘भारतको अतीत’को संज्ञा दिएको छ। साथै, ‘अतीतले कहिल्यै भविष्यसँग लड्न सक्दैन’ भन्ने टिप्पणी गर्दै वर्तमान राजनीतिक घटनाक्रमलाई परिवर्तनको संकेतका रूपमा प्रस्तुत गरेको छ।
कांग्रेस नेता पवन खेडाले शिक्षामन्त्रीको राजीनामालाई ढिलोगरी लिइएको निर्णय भएको टिप्पणी गरेका छन्। उनले राजीनामा आउन धेरै ढिलो भइसकेको र यसले मात्रै समस्या समाधान नहुने उल्लेख गर्दै अझै थप सुधारात्मक कदम आवश्यक रहेको बताएका छन्। यद्यपि, उनले यस घटनालाई सकारात्मक सुरुआतका रूपमा व्याख्या गर्दै भारतीय जनतालाई बधाई दिएका छन्।
यस्तै, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले धर्मेन्द्र प्रधानको राजीनामालाई देशका युवा र सत्यको विजयको रूपमा चित्रण गरेका छन्। विद्यार्थीको आवाज अन्ततः सत्तासम्म पुगेको दाबी गर्दै उनले यसलाई प्रधानमन्त्री मोदीको अडान पराजित भएको संकेतका रूपमा व्याख्या गरेका छन्।
शिक्षामन्त्रीको राजीनामापछि भारतको राजनीतिक वृत्तमा सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप थप तीव्र बनेको छ।