झापामा लाइसेन्सविहीन चालकको स्कुटरले तीन महिलालाई ठक्कर, एकको अवस्था गम्भीर

Breaking Nepal

आइतबार ,साउन १० , २०८३ ०८:३६

झापा – झापाको कनकाई नगरपालिका–५ टेक्रास्थित भित्री कच्ची सडकमा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन जना पैदलयात्री महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब ८:५० बजे मनकामना टोलबाट डाँडागाउँतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प ७२७७ नम्बरको इलेक्ट्रिक स्कुटरले सडकमा हिँडिरहेका तीन महिलालाई ठक्कर दिएको हो।

दुर्घटनामा ५९ वर्षीया जिना न्यौपाने गम्भीर घाइते भएकी छन्। बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ४० वर्षीया विमला न्यौपाने र ५५ वर्षीया लीलादेवी भुर्तेल पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

घाइते तीनै जनालाई प्रारम्भिक उपचारका लागि कनकाई नगर अस्पताल, सुरुंगामा लगिएको थियो। थप उपचार आवश्यक भएपछि उनीहरूलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न २२ वर्षीय चालक रोहन ओली र स्कुटरलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकसँग वैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।