कोशीमा मुख्यमन्त्रीको नाम सार्वजनिक नभएसम्म सरकार नछाड्ने कांग्रेसको संकेत

Breaking Nepal

आइतबार ,साउन १० , २०८३ १२:२८

विराटनगर / कोशी प्रदेशमा नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई तत्काल सरकारबाट फिर्ता नबोलाउने संकेत दिएको छ । पार्टीले प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय स्पष्ट नभएसम्म कुनै अन्तिम निर्णय नगर्ने रणनीति अपनाएको हो ।
कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार अहिले पार्टी ‘पर्ख र हेर’को अवस्थामा छ । एमाले र नेकपाबीच सरकार गठनसम्बन्धी सहमति भइसके पनि मुख्यमन्त्रीको नाम औपचारिक रूपमा टुंगो नलागेकाले कांग्रेसले सरकार छाड्ने निर्णय स्थगित राखेको उनले बताए ।
कोसी प्रदेशमा हाल एमाले–कांग्रेस गठबन्धनको सरकार रहेको छ । तर पछिल्लो राजनीतिक समझदारीअनुसार एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना बलियो बनेको छ ।
यससँगै कांग्रेसका मन्त्रीहरूको भविष्यबारे पनि चासो बढेको छ ।
पार्टीभित्र भने सरकारमा निरन्तरता दिने वा बाहिरिने भन्ने विषयमा औपचारिक निष्कर्ष ननिस्किएको स्रोतको भनाइ छ । कांग्रेस नेतृत्वले प्रदेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आवश्यक परे प्रदेशस्तरीय छलफलपछि मात्रै निर्णय सार्वजनिक गरिने तयारी रहेको जनाइएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार एमाले–नेकपा सहमतिले कोसी प्रदेशमा सत्ता हस्तान्तरणको प्रक्रिया तीव्र बन्ने संकेत दिएको छ । यस्तो अवस्थामा कांग्रेसले हतारमा सरकार नछाडेर नयाँ समीकरणको अन्तिम रूप पर्खने नीति अपनाएको देखिन्छ ।