Breaking Nepal

विराटनगर । नेकपा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई ले नेकपा (एमाले) सँगको नयाँ सत्ता सहकार्यलाई रहरभन्दा पनि बाध्यताको उपज भएको बताएका छन्। उनले कोशी प्रदेशमा पुनः एमालेलाई मुख्यमन्त्री स्वीकार गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ताहरूमा निराशा र आक्रोश रहेको बताएका हुन्।
राईले सहकार्य भए आलोपालो नेतृत्वको अभ्यास हुनुपर्ने उल्लेख गर्दै एमालेले यसअघि नै पटक–पटक सरकारको नेतृत्व गरिसकेको बताए। उनका अनुसार अब कम्तीमा डेढ वर्ष नेकपाले सरकारको नेतृत्व गर्ने अपेक्षा रहे पनि त्यस्तो हुन नसकेको गुनासो छ।
उनले एमालेसँगको सहकार्यप्रति तल्लो तहका कार्यकर्ताहरू सन्तुष्ट नरहेको बताए। “एमालेसँग अहिले नै सहकार्य गर्नु उपयुक्त थिएन भन्ने धारणा कार्यकर्ताहरूमा छ। विगतमा एमालेबाट धोका भएको अनुभूति र वर्तमान राजनीतिक अवस्थाले पनि सम्बन्ध सहज छैन,” राईले भने।
राईका अनुसार प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन र स्थिर सरकार गठन गर्नुपर्ने बाध्यताका कारण एमालेसँग सहकार्य गरिएको हो। “सरकार गठनको विकल्प सीमित थियो। कांग्रेस वा एमालेमध्ये एकसँग सहकार्य गर्नुपर्ने अवस्था आयो। त्यसैले यो निर्णय रहरले होइन, परिस्थितिको बाध्यताले गरिएको हो,” उनले स्पष्ट पारे।
उनले सहमतिप्रति दुई मुख्य असन्तुष्टि रहेको बताए। पहिलो, एमालेसँग सहकार्य गर्नु नै उचित नभएको र दोस्रो, सहकार्य गर्दा पनि मुख्यमन्त्री पद फेरि एमालेकै भागमा पर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।
यसैबीच, नेकपा कोशी प्रदेशका सांसद गणेश उप्रेती ले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै कोशी प्रदेशको नेतृत्व नेकपाले पाउनुपर्ने धारणा राखेका छन्। उनले लेखेका छन्, “सरकारमा नजाने निर्णय भएको भए पनि आपत्ति थिएन, तर जाने भए कोशी प्रदेशको नेतृत्व नेकपाकै हुनुपर्ने थियो।”