Breaking Nepal

विराटनगर । झापामा प्रहरीले एकै दिन सञ्चालन गरेको छुट्टाछुट्टै तीनवटा कारबाहीमा ४४ ग्रामभन्दा बढी ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको छ। घटनामा दुई जना पक्राउ परेका छन् भने एक मोटरसाइकल चालक र उनका सहयात्री फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पहिलो घटनामा भद्रपुर नगरपालिका–५ मेचीबारी क्षेत्रमा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शंकाका आधारमा जाँच गर्दा मुखभित्र प्लास्टिकको पोकामा लुकाइ ल्याएको २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती क्षेत्रमा सशस्त्र प्रहरीको टोलीलाई देखेपछि भारतबाट नेपाल आउँदै गरेको प्र १–०२–०६० प १७९३ नम्बरको मोटरसाइकल छाडेर चालक र पछाडि सवार व्यक्ति भारततर्फ फरार भएका छन्। मोटरसाइकल खानतलासी गर्दा ३६ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर तथा डेक्स्ट्रोमेथोर्फान हाइड्रोब्रोमाइड एन्ड क्लोरफेनिरामिन मेलिएट सिरपका १९ बोतल बरामद भएको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको छ।
त्यसैगरी, मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याक क्षेत्रमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालयका २१ वर्षीय विवेक जवेगुलाई पक्राउ गरेको छ। उनको साथबाट ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार तीनवटै घटनामा बरामद लागुऔषध, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँच थप कडा पारिएको प्रहरीले जनाएको छ।