सुनसरी घटनामा रास्वपाको चिन्ता, निष्पक्ष छानबिन र संयमको अपिल

Breaking Nepal

मंगलबार ,साउन १२ , २०८३ १८:०३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी तराईका जिल्लामा हालै भएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।

मंगलबार जारी विज्ञप्तिमा पार्टी सभापति रवि लामिछानेले घटनाबाट सिर्जिएको तनावपूर्ण अवस्थाले पार्टीलाई गहिरो दुःखी बनाएको उल्लेख गरेका छन् । घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

रास्वपाले कुनै पनि असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट गरेको छ । नेपालको सामाजिक संरचनाको आधार आपसी सहिष्णुता, विविधता र सद्भाव भएकाले त्यसमा असर पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबैलाई अपिल गरिएको छ ।

पार्टीले संवेदनशील अवस्थालाई थप जटिल बनाउने उत्तेजनात्मक अभिव्यक्ति र अफवाहबाट सचेत रहँदै उच्च संयमता अपनाउन आग्रह गरेको छ । नागरिक, सामाजिक तथा धार्मिक अगुवा र सरोकारवाला सबै पक्षले सामाजिक एकता जोगाउने भूमिकामा सक्रिय हुनुपर्नेमा पनि जोड दिएको छ ।

रास्वपाले शान्ति सुरक्षा कायम राख्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा परिस्थितिलाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।

घटनाको वास्तविक कारण पत्ता लगाउन स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गर्नुपर्ने माग पनि पार्टीले अघि सारेको छ । दोषीमाथि कानुनी कारबाही, पीडितलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न आवश्यक भूमिका निर्वाह गर्ने जनाएको छ ।

यसैबीच, घटनालाई कुनै पनि बहानामा राजनीतिक मुद्दा बनाउन नहुने उल्लेख गर्दै सबै राजनीतिक दल र सम्बन्धित पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरिएको छ । पार्टीका स्थानीय समिति र कार्यकर्तालाई पनि सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिइएको छ ।

Desktop Popup ImageMobile Popup Image×