Breaking Nepal

विराटनगर / सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका व्यक्तिको उपचार अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मंगलबार विराटनगरका अस्पताल पुगेकी छन् ।
मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पतालको निरीक्षण गर्दै उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे चिकित्सक तथा अस्पताल प्रशासनसँग जानकारी लिइन् ।
उपचारमा कुनै प्रकारको ढिलासुस्ती वा कमजोरी हुन नदिन निर्देशन दिँदै उनले आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरिन् ।
घाइते तथा उनीहरूका आफन्तसँगको भेटमा मन्त्री मेहताले उपचार व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन् । गम्भीर अवस्थाका बिरामीको उपचारका लागि मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको र आवश्यक सबै सहयोग उपलब्ध गराइने उनको भनाइ थियो ।
देवानगञ्ज घटनापछि स्वास्थ्य मन्त्रालयले उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै आएको जनाएको छ ।
मन्त्री मेहताले उपचार प्रक्रियामा देखिने कुनै पनि समस्या तत्काल मन्त्रालयलाई जानकारी गराउन चिकित्सक तथा अस्पताल प्रशासनलाई आग्रह गरिन् । मन्त्रालयका अनुसार घटनापछि घाइतेको उपचारलाई सहज, प्रभावकारी र निरन्तर बनाउन आवश्यक सबै संयन्त्र परिचालन गरिएको छ ।