धनकुटामा हातहतियार मुद्दाको अनुसन्धान तीव्र, भरुवा बन्दुकसहित युवक पक्राउ

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ ११:०९

धनकुटा / धनकुटामा अवैध रूपमा भरुवा बन्दुक बोकेर हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ खुलाल टोलका २३ वर्षीय विजय राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले राईलाई एकनाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियमित गस्तीका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचका क्रममा उनी पक्राउ परेका प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको भरुवा बन्दुकसहित राईलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत धनकुटाबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरिएको छ। घटनाको प्रकृति, हातहतियारको स्रोत तथा यसको प्रयोगसम्बन्धी पक्षमा केन्द्रित भएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सुरक्षा निकायले अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको जनाएको छ। प्रहरीले यस्ता गतिविधिबारे जानकारी भए तत्काल सूचना दिन सर्वसाधारणसँग आग्रहसमेत गरेको छ।