कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ विद्युतीय सवारी सशस्त्रको नियन्त्रणमा, भन्सार छलीबारे छानबिन

Breaking Nepal

बिहीबार ,जेष्ठ २१ , २०८३ ११:१५
काठमाडौं / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङस्थित कोरोला नाकामार्फत नेपाल भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। भन्सार महसुल छली गरिएको हुनसक्ने आशंकापछि विभिन्न स्थानमा समन्वित सुरक्षा परिचालन गरी ती सवारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा बुधबार राति विशेष सुरक्षा अभियान सञ्चालन गरी विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको हो। यसका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत तथा नम्बर २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ। यससँगै नियन्त्रणमा परेका सवारीसाधनको कुल संख्या ७ सय ७५ पुगेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई बुझाइनेछ।

राजस्व चुहावट नियन्त्रण र भन्सार प्रणालीको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राखेर सुरक्षा निकायले पछिल्लो समय सीमावर्ती नाकाहरूमा निगरानी कडा बनाउँदै आएका छन्। कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनमाथिको यो कारबाहीलाई पनि राजस्व संरक्षण तथा अवैध आयात नियन्त्रण अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।