Breaking Nepal

विराटनगर / विराटनगर महानगरपालिकाले कक्षा ११ अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रमअन्तर्गत लिइएको प्रवेश परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । महानगरले जेठ २३ गते सम्पन्न परीक्षाको नतिजा सोमबार प्रकाशन गर्दै अन्तिम नतिजा जेठ २८ गते सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार प्रारम्भिक नतिजाप्रति कुनै गुनासो वा प्राप्ताङ्कबारे असन्तुष्टि भए विद्यार्थीले तीन दिनभित्र महानगरमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्राप्त उजुरी तथा विवरण सच्याउने प्रक्रिया पूरा भएपछि विद्यार्थीले अध्ययन गर्न चाहेको विद्यालयको नामसहित अन्तिम नतिजा सार्वजनिक गरिनेछ ।
यस वर्ष छात्रवृत्तिका लागि १ हजार ९८ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये ९ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये विज्ञान संकायतर्फ ३९२ र व्यवस्थापन संकायतर्फ ३२८ गरी कुल ७३१ विद्यार्थी छात्रवृत्तिका लागि छनोट हुने भएका छन् ।
महानगरका अनुसार विराटनगरका विभिन्न प्लस टु शिक्षालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार छनोट प्रक्रिया सञ्चालन गरिएको हो । हाल महानगरभित्र सञ्चालित २६ वटा प्लस टु शिक्षालयमा विज्ञान र व्यवस्थापन संकायमा मात्रै ७ हजार ३११ विद्यार्थी अध्ययनरत छन् । विज्ञान संकाय १५ तथा व्यवस्थापन संकाय २४ शिक्षालयमा सञ्चालनमा रहेको छ ।
यस वर्ष सबैभन्दा बढी छात्रवृत्तिको कोटामा शिक्षादीप कलेज अगाडि रहेको छ, जहाँ १३१ विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । त्यसपछि अरनिको कलेजमा ११८, कान्तिपुर कलेजमा ९६, अर्किट कलेजमा ८५, मेरिल्याण्ड कलेजमा ८३ तथा बीकेभिएममा ३४ विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । अन्य शिक्षालयमा भर्ना भएका विद्यार्थी संख्या तुलनात्मक रूपमा कम रहेकाले छात्रवृत्तिको कोटा पनि सोही अनुपातमा निर्धारण गरिएको महानगरले जनाएको छ ।
यस वर्ष छात्रवृत्ति छनोट प्रक्रिया संघीय सरकारको एकीकृत सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गरिएको छ । विगतमा महानगरले आफ्नै प्रणाली प्रयोग गर्दै आएको भए पनि यसपटक परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका मूल्यांकन र नतिजा प्रशोधनलाई थप पारदर्शी, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन संघीय प्रणाली अवलम्बन गरिएको हो ।
महानगरका अनुसार परीक्षामा प्राप्त अंक स्क्यान गरी शिक्षा मन्त्रालयमा पठाइने र मन्त्रालयको प्रणालीमा तथ्यांक प्रविष्ट भएपछि स्वचालित रूपमा नतिजा प्रकाशन हुने व्यवस्था रहेको छ । यसले मानवीय त्रुटि न्यूनीकरण गर्नुका साथै छात्रवृत्ति वितरण प्रक्रियालाई थप निष्पक्ष बनाउने अपेक्षा गरिएको छ ।
शिक्षा क्षेत्रमा समान अवसर विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको महानगरको दाबी छ । महानगरले आगामी वर्षहरूमा पनि छात्रवृत्ति वितरण प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमुखी बनाउँदै लैजाने जनाएको छ ।