विराटनगरमा ‘लापसे’ नियन्त्रण अभियान : २० चालक–सहचालकमध्ये १४ जना लागूऔषध सेवन गरेको अवस्थामा फेला

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ २१:३१

विराटनगर / बढ्दो सवारी दुर्घटना नियन्त्रण र सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको विशेष ‘लागूऔषध सेवन (लापसे) चेकजाँच’ अभियानमा उल्लेख्य संख्यामा चालक तथा सहचालक लागूऔषध सेवन गरेको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक कार्यालय मोरङको संयुक्त पहलमा तथा इलाका प्रहरी कार्यालय रानीको समन्वयमा विराटनगर महानगरपालिका–१५ रानीस्थित कोशी लोकमार्गमा सवारी चालक तथा सहचालक लक्षित विशेष जाँच अभियान सञ्चालन गरिएको हो ।

अभियानका क्रममा ९० वटा सवारी साधनको निगरानी तथा चेकजाँच गरिएको थियो । जसमध्ये शंकास्पद देखिएका २० जना चालक तथा सहचालकको लागूऔषध सेवन परीक्षण (लापसे) गर्दा १४ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए ।

लागूऔषध सेवन गरेको पाइएका उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । प्रहरीले लागूऔषध सेवन गरेर सवारी चलाउँदा चालकको निर्णय क्षमता, प्रतिक्रिया समय तथा एकाग्रतामा प्रतिकूल असर पुग्ने भएकाले दुर्घटनाको जोखिम उच्च रहने जनाएको छ ।

अभियानसँगै प्रहरी टोलीले चालक तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, मादक पदार्थ तथा लागूऔषध सेवनपछि सवारी नचलाउने विषयमा सचेतनामूलक प्रशिक्षणसमेत दिएको थियो । ट्राफिक प्रमुख न्यौपाने नेतृत्वको टोलीले सडक सुरक्षामा सबै पक्षको जिम्मेवारी समान रहेको भन्दै नियम पालनामा जोड दिएको थियो ।

हाल पछिल्ला वर्षहरूमा लागूऔषध सेवनपछि सवारी सञ्चालन गर्ने प्रवृत्ति चुनौतीका रूपमा देखिन थालेपछि प्रहरीले मुख्य राजमार्ग तथा व्यस्त नाकाहरूमा यस्ता निगरानी र परीक्षण अभियानलाई तीव्रता दिएको छ । सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सार्वजनिक यातायात प्रवर्द्धन तथा जिम्मेवार चालक संस्कृतिको विकासका लागि यस्ता अभियान प्रभावकारी हुने उनको विश्वास छ ।