विराटनगर प्रवेशमा मालबाहक सवारीमाथि कडाइ, निर्माण सामग्री छोपेर मात्रै ढुवानी गर्नुपर्ने

Breaking Nepal

सोमबार ,जेष्ठ २५ , २०८३ २१:२२

विराटनगर / विराटनगर महानगर क्षेत्रमा प्रवेश गर्ने मालबाहक सवारीसाधनमाथि निगरानी कडा पारिएको छ । सडक सुरक्षासँगै शहरी सरसफाइलाई प्राथमिकता दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरीले संयुक्त रूपमा निर्माण सामग्री बोकेका सवारीसाधनको अनुगमन तीव्र बनाएका हुन् ।

विशेषगरी गिट्टी, बालुवा, माटो तथा अन्य निर्माण सामग्री बोकेर आउने ट्रक र टिपरहरूले सामग्री नछोपी ढुवानी गर्दा सडकमा बालुवा र गिट्टी पोखिने तथा पानी चुहिने समस्या बढ्दै गएको थियो । यसले सडक फोहोर हुनुका साथै धुलो र निर्माण सामग्रीका कण यात्रु तथा सर्वसाधारणको आँखा र शरीरमा पस्ने, दुर्घटनाको जोखिम बढ्ने र वातावरणीय प्रदूषण सिर्जना हुने गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेका अनुसार अबदेखि निर्माण सामग्री बोकेका सवारीले अनिवार्य रूपमा डालो वा तिरपालले छोपेर मात्रै ढुवानी गर्नुपर्नेछ । सामग्रीबाट पानी चुहिने, सडकमा खस्ने वा उड्ने अवस्था भेटिएमा सम्बन्धित सवारी चालक तथा व्यवसायीलाई कारबाही गरिने चेतावनी दिइएको छ ।

महानगर क्षेत्रभित्र सडकको गुणस्तर जोगाउने, सरसफाइ कायम गर्ने र यात्रु तथा पैदलयात्रीको सुरक्षालाई सुनिश्चित गर्न यस्तो अभियान सञ्चालन गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । पछिल्लो समय विराटनगरका मुख्य सडक तथा चोकहरूमा निर्माण सामग्रीका कारण धुलो र फोहोर बढेको गुनासो सर्वसाधारणबाट आउँदै आएको थियो ।

प्रहरीले निर्माण व्यवसायी, ढुवानी कम्पनी र सवारीधनीलाई प्रचलित मापदण्ड पालना गर्न आग्रह गरेको छ । सडकमा खस्ने निर्माण सामग्रीले नाली अवरुद्ध हुने, सडकको आयु घट्ने तथा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले नियम कार्यान्वयनमा कुनै सम्झौता नगर्ने प्रहरीको भनाइ छ ।

यससँगै ट्राफिक प्रहरीले ओभरलोड, मापदण्डविपरीत ढुवानी तथा सडक सुरक्षासम्बन्धी अन्य नियम उल्लंघन गर्ने सवारीमाथि पनि निगरानी बढाउने जनाएको छ । सरसफा, सुरक्षित र व्यवस्थित विराटनगर निर्माणका लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको महानगरको भनाइ छ ।