Breaking Nepal

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमालहरूको आरोहण सम्पन्न भएको छ। यस वर्ष ३१ वटा हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्र ४९५ जनाले अनुमति लिएका थिए। तीमध्ये ५६ देशका ३९० पुरुष र १०५ महिला आरोही रहेका थिए। अनुमति प्राप्त आरोहीका साथै सहयोगी र गाइडसमेत गरी एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्।
यस वर्ष आरोहण अनुमति लिनेमा चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७० तथा नेपालका ४४ आरोही रहेका छन्।
सगरमाथा आरोहणमा पनि चीनका १०९ आरोही अग्रस्थानमा रहेका छन्। त्यसपछि अमेरिका (७७), भारत (६१), बेलायत (३२) र रसिया (१८) का आरोहीले सगरमाथा सफलतापूर्वक चढेका छन्।
यस सिजनमा कामिरिता शेर्पा ले ३२औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै विश्व कीर्तिमान तोडेका छन्। त्यस्तै, लाक्पा शेर्पा ले ११ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फ नयाँ कीर्तिमान कायम गरेकी छन्।
राजस्वतर्फ, सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै १ अर्ब ८ करोड १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। साथै लोत्से, मकालु, आमादब्लम, कञ्चनजङ्गा र अन्नपूर्ण प्रथम लगायतका हिमालबाट पनि उल्लेख्य राजस्व सङ्कलन भएको छ।
समग्रमा, यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमति शुल्कबाट सरकारले १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।