Breaking Nepal

विराटनगर / मोरङको सुनवर्षी नगरपालिकामा अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको किराना सामान बरामद गरिएको छ ।
सुरक्षाकर्मीले प्राप्त विशेष सूचनाका आधारमा सुनवर्षी नगरपालिका–९, डाइनियास्थित डाइनिया चोकबाट अमरदहतर्फ जाने सडक खण्ड नजिक रहेका दुई वटा घरमा खानतलासी गर्दा विभिन्न प्रकारका किराना सामग्री फेला पारेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी, मोरङबाट खटिएको टोलीले मंगलबार गरेको खानतलासीका क्रममा ती सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ । भन्सार कार्यालयले उक्त सामानको मूल्यांकन गर्दा कुल २ लाख १८ हजार ९८५ रुपैयाँ बराबर रहेको जनाएको छ ।
अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाइएको सुरक्षा निकायले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.




