मोरङमा कार्यरत ट्राफिक प्रहरीलाई क्षयरोगबारे अभिमुखीकरण, सक्रिय खोजपडताल अभियान सञ्चालन

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ २१:३७

विराटनगर / क्षयरोग नियन्त्रण तथा ‘क्षयरोगमुक्त नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा ट्राफिक प्रहरीलाई लक्षित गरी क्षयरोग सम्बन्धी अभिमुखीकरण तथा सक्रिय खोजपडताल कार्यक्रम सञ्चालन गरिएको छ । उच्च जोखिममा रहने समूहको पहिचान गर्दै समयमै परीक्षण र उपचारमा पहुँच बढाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

विराटनगर महानगरपालिकाको सहयोग तथा नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको समन्वयमा संस्थाको कार्यालयमा सम्पन्न कार्यक्रममा मोरङ जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरूले क्षयरोगको संक्रमण प्रक्रिया, प्रारम्भिक लक्षण, रोकथामका उपाय र समयमै उपचारको महत्वबारे जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले क्षयरोग अझै पनि नेपालको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै जोखिम समूहमा केन्द्रित खोजपडताल र जनचेतनामूलक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । जनस्वास्थ्य अधिकृत रमेश कार्कीले प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न सकिए उपचार सफल हुने दर उच्च रहने भएकाले नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले ट्राफिक प्रहरीहरू दैनिक रूपमा सडकमा धुलो, धुवाँ, प्रदूषण तथा ठूलो संख्यामा सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले स्वास्थ्य सुरक्षाप्रति विशेष सचेत रहनुपर्ने बताए । उनले नियमित स्वास्थ्य परीक्षण, व्यक्तिगत सरसफाइ र मास्क प्रयोगलाई कार्यसंस्कृतिको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य विज्ञहरूका अनुसार लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने, राति पसिना आउने तथा थकान महसुस हुने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्छ । कार्यक्रममा सहभागी ट्राफिक प्रहरीहरूलाई यस्ता लक्षण देखिएमा ढिलाइ नगरी परीक्षण गराउन र समुदायमा समेत सचेतना फैलाउन आग्रह गरिएको थियो ।

कार्यक्रममा सक्रिय क्षयरोग खोजपडतालअन्तर्गत जोखिममा रहेका व्यक्तिहरूको पहिचान, आवश्यक परे नमुना संकलन तथा थप परीक्षणका लागि स्वास्थ्य संस्थासम्म पहुँच सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको थियो । सहभागीहरूले ट्राफिक प्रहरीहरू समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले क्षयरोगविरुद्ध जनचेतना अभिवृद्धि गर्न उनीहरूको भूमिका प्रभावकारी हुन सक्ने धारणा व्यक्त गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब ६८ हजार व्यक्ति क्षयरोगबाट प्रभावित हुने गरेका छन् । यद्यपि धेरै संक्रमित समयमै पहिचान र उपचारको दायरामा आउन नसक्दा रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ । सरकारले ‘क्षयरोगमुक्त नेपाल’ अभियानलाई तीव्रता दिइरहेका बेला स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रयास भइरहेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएकाले समयमै परीक्षण, नियमित औषधि सेवन र जनचेतना विस्तार नै यसको नियन्त्रणको मुख्य आधार हो । यस्तै लक्षित समूहमा केन्द्रित कार्यक्रमहरूले संक्रमणको जोखिम न्यूनीकरणसँगै राष्ट्रिय क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।