होर्मुज बन्द गर्ने इरानको घोषणा, अमेरिकी हवाई आक्रमणपछि मध्यपूर्वी तनाव थप चर्कियो

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ ०८:२९

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप गहिरिएको छ। यसैबीच इरानले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका जहाजहरूको आवतजावत बन्द गरिएको घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले बुधबार राति गरेको आक्रमणलाई इरानको ‘निरन्तर आक्रामक गतिविधि’ विरुद्धको प्रतिकारात्मक कदमका रूपमा व्याख्या गरेको छ। आक्रमणपछि इरानका विभिन्न क्षेत्रमा विस्फोट र सैन्य गतिविधि तीव्र बनेका छन्।

इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग आसपासका क्युसिम टापु, बन्दर अब्बास तथा सिरिक क्षेत्रमा शक्तिशाली विस्फोट भएको जनाएका छन्। दक्षिणी सहर करगानमा पनि बमबारी भएको र कम्तीमा दुई जना घाइते भएको उल्लेख गरिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकामाथि गत अप्रिलमा भएको युद्धविराम सम्झौता बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै होर्मुज जलमार्ग बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो। आईआरजीसीका अनुसार तेल ट्यांकर, मालवाहक तथा अन्य व्यापारिक जहाजहरू समेत यो निर्णयबाट प्रभावित हुनेछन्।

विश्वको ठूलो हिस्सा तेल तथा ग्यास ढुवानी हुने यो जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व व्यापारमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। इरानले जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न आफूले सहयोग गरिरहेको भन्ने अमेरिकाको दाबीलाई समेत अस्वीकार गरेको छ।

यो घटनाक्रम होर्मुज क्षेत्रमा अमेरिकी ‘अपाचे’ हेलिकोप्टर खसालिएको घटनापछि अमेरिका र इरानबीच सुरु भएको सैन्य तनावको निरन्तरता मानिएको छ। पछिल्ला केही दिनयता दुवै पक्षबीच आक्रामक गतिविधि बढ्दै गएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा कदम चाल्न सकिने चेतावनी दिएका थिए। उनले सम्झौताका विषयमा इरानले समय खेर फाल्ने र अमेरिका भ्रमित पार्ने प्रयास गरेको आरोप लगाएका थिए।

यता इरानका राष्ट्रपति मसुद पेजेस्कियानले ट्रम्पको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले यातायात, विद्युत् र खानेपानीजस्ता पूर्वाधारलाई निशाना बनाउने धम्की शक्तिको प्रदर्शन नभई दबाब सिर्जना गर्ने असफल प्रयास भएको टिप्पणी गरेका छन्।

मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमले विश्व ऊर्जा आपूर्ति, कच्चा तेलको मूल्य तथा अन्तर्राष्ट्रिय व्यापारिक मार्गको सुरक्षाप्रति नयाँ चिन्ता थपिएको छ। विश्लेषकहरूले होर्मुज जलमार्ग लामो समय अवरुद्ध भएमा विश्व बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आउन सक्ने बताएका छन्।