ओमान नजिक जहाजमाथि अमेरिकी आक्रमण : तीन भारतीय चालक दलका सदस्य बेपत्ता

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ ०९:००

काठमाडौं / ओमानको तटनजिकै व्यापारिक जहाजमाथि भएको अमेरिकी आक्रमणप्रति भारतले कडा असन्तुष्टि जनाउँदै औपचारिक कूटनीतिक विरोध दर्ता गराएको छ। उक्त घटनामा जहाजमा कार्यरत तीन भारतीय नाविक बेपत्ता भएपछि नयाँ दिल्लीले चालक दलको सुरक्षालाई गम्भीर चासोका रूपमा उठाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामक व्यापारिक जहाजमाथि बुधबार उच्च सटिकता भएका हतियार प्रयोग गरी आक्रमण गरिएको थियो। ओमानको खाडी क्षेत्र हुँदै गइरहेको जहाजमा २४ भारतीय नाविक सवार रहेकामा २१ जनाको सकुशल उद्धार गरिएको छ भने तीन जना अझै सम्पर्कविहीन छन्।

घटनापछि भारतीय परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमार्फत औपचारिक विरोध जनाएको जनाएको छ। मन्त्रालयका अतिरिक्त सचिव नागराज नायडुले अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्सलाई बोलाएर भारतको चासो र असन्तुष्टि व्यक्त गरेका हुन्।

भारतीय पक्षले आक्रमणमा परेको ‘सेटेबेलो’ अमेरिकी वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) को प्रतिबन्ध सूचीमा नरहेको विषयलाई विशेष रूपमा उठाएको बताइएको छ। करिब २५ मिनेटसम्म चलेको छलफलमा जहाजमाथिको आक्रमण र भारतीय चालक दलको सुरक्षालाई मुख्य एजेन्डा बनाइएको थियो।

हालैका महिनाहरूमा भारतीय नागरिक कार्यरत व्यापारिक जहाजहरू बारम्बार निशानामा परिरहेका छन्। यसअघि पनि यस्तै प्रकृतिको अर्को घटनामा भारतीय चालक दल प्रभावित भए तापनि भारतले सार्वजनिक रूपमा कडा प्रतिक्रिया जनाएको थिएन। तर पछिल्लो घटनामा तीन नाविक बेपत्ता भएपछि नयाँ दिल्ली थप आक्रामक रूपमा प्रस्तुत भएको देखिएको छ।

भारतले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालन हुने व्यापारिक जहाजमाथि हुने सैन्य कारबाही तत्काल रोक्न आग्रह गर्दै नागरिक जहाज र चालक दलको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। साथै अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा निर्बाध नौवहन तथा व्यापार सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

यसअघि गत अप्रिलमा होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका भारतीय ट्यांकरहरू लक्षित घटनापछि भारतले इरानी राजदूतलाई बोलाएर पनि औपचारिक विरोध जनाएको थियो।

बुधबारको घटनापछि भारतीय परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली समुद्री क्षेत्रमा व्यापारिक जहाजमाथि भइरहेका लगातारका आक्रमणले अन्तर्राष्ट्रिय व्यापार, आपूर्ति शृंखला र समुद्री सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गरेको जनाएको छ। मन्त्रालयले यस्ता गतिविधि तत्काल रोक्न र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित तथा अवरोधरहित आवागमनको वातावरण पुनःस्थापित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।