Breaking Nepal

विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रादेशिक अधिवेशनबाट चन्द्रबहादुर राई प्रदेश सभापतिमा निर्वाचित भएका छन् । मोरङको विराटचोकमा सम्पन्न अधिवेशनमा राईले आफ्ना तीन प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै प्रदेश नेतृत्वको जिम्मेवारी हात पारेका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार सभापति पदका लागि खसेको ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (सरिन) ले १४१ मत प्राप्त गरिन् । यस्तै, डा. खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौली (निरज) ले २७ मत प्राप्त गरे । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
मोरङ निवासी राईको विजयसँगै रास्वपाले कोशी प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनअघि नै राईको पक्षमा पार्टीका केही केन्द्रीय नेता तथा सांसदहरू सक्रिय रूपमा देखिएका थिए । मतदान प्रक्रियाका क्रममा राई पक्षधरहरूले प्रतिनिधिमाझ प्यानलसहितको सूची वितरण गरेको भन्दै सभापतिका उम्मेदवार तामाङले मतदानस्थलमै असन्तुष्टि जनाएकी थिइन् ।
रास्वपाको कोशी प्रदेश कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएकी तामाङ प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेकी थिइन् । प्रदेश अधिवेशनको नतिजापछि उनले सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने घोषणा गरेकी छन् ।
पहिलो प्रादेशिक अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा प्रदेशस्तरीय राजनीतिक प्रभावकारिता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । रास्वपाको कोशी प्रदेश संगठनका लागि यो अधिवेशनलाई नेतृत्व हस्तान्तरणसँगै आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।