युवालाई रोजगारीसँग जोड्न उद्योग संगठनको आयोजनामा विराटनगरमा बृहत् सीप उत्सव

Breaking Nepal

बिहीबार ,जेष्ठ २८ , २०८३ १७:२४

विराटनगर /  उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीचको सीप अन्तरलाई सम्बोधन गर्ने उद्देश्यसहित विराटनगरमा ‘सीप उत्सव २०८३’ आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुने उत्सव स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहकार्य तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालन गरिने भएको हो ।

जेठ ३१ गते आइतबार उद्योग संगठन मोरङको सचिवालय परिसरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उत्सवमा सीप विकास, करियर मार्गदर्शन तथा उद्योग–शिक्षा सहकार्यलाई केन्द्रमा राखेर विविध कार्यक्रम आयोजना गरिनेछन् ।

उत्सवअन्तर्गत सूचना प्रविधि, होटल व्यवस्थापन र अटोमोबाइल विषयमा अन्तर–शैक्षिक संस्थास्तरीय सीप प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई सोही दिन अपराह्न पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

साथै, माटोका भाँडावर्तन निर्माण, प्लम्बिङ, इन्डस्ट्रियल अटोमेसन, सीसीटीभी जडान, थ्रीडी प्रिन्टिङ तथा हरित सीप (ग्रिन स्किल) सम्बन्धी प्रत्यक्ष प्रदर्शन तथा लाइभ तालिम सञ्चालन गरिनेछ । विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श कार्यक्रम पनि आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय र प्रशिक्षार्थीबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनका अनुसार उत्सवले सीप विकास र रोजगारीबीच प्रभावकारी सम्बन्ध स्थापित गर्दै स्वदेशमै रोजगारीका अवसर प्रशस्त रहेको सन्देश प्रवाह गर्नेछ ।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व, अप्रेन्टिसिप कार्यक्रमको प्रभावकारिता तथा सीपयुक्त जनशक्तिको माग–आपूर्तिबीच सन्तुलन कायम गर्न पनि उत्सव फलदायी हुने विश्वास व्यक्त गरे ।

उद्योग संगठन मोरङका कार्यसमिति सदस्य तथा मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालका अनुसार उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन र अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय तथा सूचना प्रविधि र आतिथ्य क्षेत्रसँग सम्बन्धित प्रदेश तथा जिल्लास्तरीय विभिन्न संघ–संस्थाको उल्लेख्य सहभागिता रहनेछ ।

आयोजकका अनुसार ‘सीप उत्सव २०८३’ ले व्यावसायिक सीप विकास, करियर मार्गदर्शन र उद्योगसँगको सहकार्यलाई संस्थागत गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई अझ उद्योगमैत्री, व्यवहारिक र रोजगारमुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।