Breaking Nepal

विराटनगर / निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित बनेको छ। प्रि–मनसुन प्रणाली र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा वर्षा बढेपछि प्रदेशका रणनीतिक महत्त्वका राजमार्गहरूमा अवरोध सिर्जना भएको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबारसम्म खोटाङ र इलामका दुई प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने भोजपुर र पाँचथरका केही भागमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित पंखु खोलामा गएको पहिरोका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा बन्द रहेको छ। उक्त सडक खण्ड जेठ २ गतेदेखि अवरुद्ध रहँदै आएको छ, जसका कारण पूर्व–पश्चिम तथा पहाडी जिल्लाबीचको आवागमन प्रभावित बनेको छ।
त्यसैगरी, इलाम नगरपालिका–९ स्थित पुवाखोलामा आएको बाढीले मेची करिडोर अवरुद्ध बनाएको छ। जेठ २८ गतेदेखि यातायात सञ्चालन हुन नसकेको उक्त सडक खण्डका यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यता, भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङवरक गाउँपालिका–२ दोभान क्षेत्रमा बाढीका कारण मध्य पहाडी लोकमार्गको केही भाग प्रभावित भएको छ। ती दुवै स्थानमा हाल एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।
लगातारको वर्षाले पहाडी जिल्लाका ग्रामीण सडकहरूमा समेत व्यापक क्षति पुर्याएको छ। उत्तर–दक्षिण आवागमनका महत्वपूर्ण मार्गहरू अवरुद्ध वा सीमित क्षमतामा सञ्चालन हुँदा स्थानीय बासिन्दा, यात्रु तथा ढुवानी सेवा प्रभावित भएका छन्।
सुरक्षा निकाय तथा सम्बन्धित सडक कार्यालयहरूले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखे पनि निरन्तरको वर्षा र जोखिमपूर्ण भू–भागका कारण काममा चुनौती थपिएको छ। मौसम प्रणाली अझै सक्रिय रहेकाले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ प्रस्थान गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा थप बाढी र पहिरोको जोखिम कायम रहेकाले उच्च सतर्कता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ।