Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान राजनीतिक परिवेशमा कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताएका छन् । लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र संस्थागत लोकतन्त्रको प्रभावकारी संरक्षणका लागि कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको ‘श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना कार्यक्रम’लाई सम्बोधन गर्दै कोइरालाले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा रहेको कांग्रेसभित्र सहकार्य, संवाद र एकताको संस्कृतिलाई थप बलियो बनाउन आफू निरन्तर सक्रिय रहेको बताए ।
उनले पछिल्लो समय मुलुक राजनीतिक संक्रमण, आर्थिक चुनौती र नागरिक अपेक्षाको दबाबबाट गुज्रिरहेको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिहरूबीचको एकता र जिम्मेवार राजनीतिक व्यवहारले मात्र राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्ने धारणा राखे । ‘कांग्रेस बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो हुँदा संविधान र नागरिक अधिकार सुरक्षित हुन्छन्,’ उनले भने।
कोइरालाले श्रमिकहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक संरक्षणलाई विकासको महत्वपूर्ण सूचकका रूपमा व्याख्या गर्दै श्रम क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको बताए । उनले उत्पादनशील अर्थतन्त्र निर्माण, औद्योगिक विकास र रोजगारी विस्तारका लागि श्रमिकमैत्री वातावरण अनिवार्य रहेको उल्लेख गरे ।
‘श्रमिकको सुरक्षा, सम्मानजनक कामको वातावरण र सामाजिक सुरक्षाको प्रत्याभूति बिना दिगो आर्थिक विकास सम्भव हुँदैन,’ उनले भने, ‘राज्य, रोजगारदाता र श्रमिक संगठनबीचको सहकार्यबाट मात्र श्रम सम्बन्धलाई सुदृढ बनाउन सकिन्छ ।’
फरक प्रसंगमा बोल्दै उनले राजनीतिक दल निकट ट्रेड युनियनहरू संविधानले प्रत्याभूत गरेको संगठन स्वतन्त्रताको अधिकारअन्तर्गत स्थापित संस्था भएकाले कसैको चाहनाले मात्रै खारेज गर्न नसकिने स्पष्ट पारे । श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र औद्योगिक सम्बन्ध सन्तुलनमा यस्ता संगठनहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । कोइरालाले विश्वमै ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्य भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्की, केन्द्रीय उपमहासचिव बलदेब तामाङ, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीलगायत उद्योग क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सुरक्षित कार्यस्थल, श्रमिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन तथा श्रम अधिकारको प्रत्याभूतिका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा श्रमिक स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, कार्यस्थल दुर्घटना न्यूनीकरण र श्रम क्षेत्रको उत्पादकत्व वृद्धि गर्न सरकार, निजी क्षेत्र र श्रमिक संगठनबीच सहकार्य आवश्यक रहेको निष्कर्ष समेत निकालिएको थियो ।