अपेक्षित मौसम

Breaking Nepal

pen
पार्वती भट्ट
शनिबार ,जेष्ठ ३० , २०८३ १२:१८

व्यस्त सहरको
भिड र कोलाहलमा
म हराएँ भने
बिर्सने पो हो कि मेरो गाउँले
मेरो प्यारो अनुहार
मेटिने पो हो कि
स्मृतिका पानामा लेखिएका
अतीतका मेरा मिठा स्मृति
मेरा पाइतालाका डोबहरूले
नठम्याउने पो हुन् कि
मेरो प्रिय गाउँ फर्किने बाटो

यो निष्ठुरी सहरमा
समय समाउने हतारमा
दौडिंदा दौडिंदा
सधैं निथ्रुक्क भिजेकी छु
पसिनाको झरीमा
बाफिएकी छु घामको रापमा
बनेको छु
न पोल्ने, नदुख्ने
चौबाटोमा उभिएको
कविको एउटा मौन सालिक ।

निरन्तर हिर्काइरहेछ
समयका सिर्केटाहरुले
मन मुटु र मस्तिष्कमा
दाैडिरहेछ
नदी भएर बतास भएर
अनिश्चित गन्तव्यसँगै
खुसीहरू प्लास्टिकका फूल भएका छन्
रङ छ सुवास छैन
मुटु छ आत्मा छैन
खुसीले जीवनका
पाना रङ्याउने प्रतिस्पर्धामा
हारेकी छु / थाकेकी छु
र पनि बाँच्नुको आभास बोकेर
अल्मलाई रहेकि छु आफैँलाई
यो सहरको छलकपटको
बाफिलो परिवेशमा
खोजिरहेकी छु
एउटा शीतल समय
वसन्तको एउटा उपयुक्त मौसम ।

डडेल्धुरा !