बाजुरा र हुम्लाको सीमा विवाद रहेको लाम्पाटा क्षेत्रमा सशस्त्र प्रहरी

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ १५:२६

काठमाडौं / बाजुरा र हुम्लाको सीमा विवाद रहेको लाम्पाटा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली पुगेको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको टोली शनिबार विवादित क्षेत्रमा पुगेको हो।

टोली पुगेसँगै उक्त क्षेत्रमा अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीको आवश्यक निर्देशन, समन्वय तथा अनुगमन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै गरिने बताइएको छ।

प्रधान कार्यालयले आवश्यकता अनुसार थप जनशक्ति, समन्वय र सहयोग उपलब्ध गराउने जनाएको छ। पछिल्ला केही दिनयता विभिन्न विषयलाई लिएर सीमा क्षेत्रमा विवाद बढेपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो।

यसअघि नै नेपाल प्रहरीको टोली पनि लाम्पाटा क्षेत्रमा पुगिसकेको छ। सुरक्षा निकायहरूले स्थानीय अवस्थाको निरन्तर निगरानी गर्दै शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिरहेका छन्।