असममा भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटना, पाँच जवानको मृत्यु

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ १६:१३

भारतको असमस्थित जोरहाट वायुसेना स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा पाँच वायुसेनाकर्मीको मृत्यु भएको छ।

भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेको जनाएको छ। वायु सेनाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

वायु सेनाका अनुसार विमान ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो। घटनाको वास्तविक कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ।

दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको जनाउँदै वायु सेनाले अनुसन्धान नसकिँदासम्म कुनै पनि अड्कलबाजी नगर्न आग्रह गरेको छ।

एएन–३२ दुई इन्जिनयुक्त टर्बोप्रप सैन्य यातायात विमान हो। सैनिक तथा सामग्री ढुवानी, राहत सामग्री पुर्‍याउने, दुर्गम क्षेत्रमा आपूर्ति गर्ने र प्यारासुटरहरूलाई हवाईमार्फत उतार्ने कार्यमा यसको प्रयोग हुँदै आएको छ।