Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसभित्र आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर संस्थापन इतर समूहले कोशी प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने भएको छ । आइतबार विराटनगरमा हुने भेलालाई पार्टीभित्र देखिएको गुटगत विभाजन अन्त्य गर्दै साझा राजनीतिक समझदारी निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट नेता–कार्यकर्ता सहभागी हुने बताइएको उक्त भेलाले कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक पुनर्संरचना तथा नेतृत्वको कार्यशैलीबारे स्पष्ट सन्देश दिने जनाइएको छ । पार्टीभित्र पछिल्लो समय बढ्दै गएको असन्तुष्टि, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर उठेका विवाद तथा महाधिवेशनको कार्यतालिकासम्बन्धी अन्योलका बीच आयोजना हुन लागेको भेला कांग्रेसको आन्तरिक राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।
शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले पार्टीलाई थप एकताबद्ध, समावेशी र गतिशील बनाउने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यो कुनै व्यक्ति वा समूह विशेषको शक्ति प्रदर्शन नभई कांग्रेसलाई आगामी दिनका लागि बलियो र प्रतिस्पर्धी बनाउने साझा अभियान हो ।
कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइराला र कांग्रेस महानगर समितिका सभाापति दीपक चापागाईंको उस्थितिमा भएको पत्रकार सम्मेलनमा महामन्त्री राईले पार्टीभित्र फरक विचार राख्ने सबै पक्षलाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । ‘कांग्रेसको शक्ति यसको विविधता र लोकतान्त्रिक संस्कारमा छ । फरक मतलाई निषेध गरेर होइन, समेटेर मात्र संगठनलाई बलियो बनाउन सकिन्छ,’ उनले भने ।
राईले क्रियाशील सदस्यता अध्यावधिकलाई लिएर कार्यकर्ताबीच देखिएको मनोवैज्ञानिक त्रास अन्त्य गर्नुपर्नेमा पनि जोड दिए । उनका अनुसार पार्टीभित्र डर, दबाब र बहिष्कारको राजनीतिले संगठनलाई कमजोर बनाउने भएकाले सबैलाई सम्मानजनक सहभागिताको वातावरण सुनिश्चित गरिनुपर्छ ।
महाधिवेशन समयमै गर्नुपर्ने माग
भेलाको मुख्य एजेन्डामध्ये एक आगामी पन्ध्रौँ महाधिवेशनलाई समयमै सम्पन्न गराउने विषय रहने नेताहरूले बताएका छन् । उनीहरूले निर्धारित कार्यतालिका अनुरूप महाधिवेशन सम्पन्न गरी नेतृत्व चयन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राखेका छन् ।
महामन्त्री राईले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीभित्रको एकता पुनर्स्थापना गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । ‘महाधिवेशनले विजेता र पराजित होइन, समग्र पार्टीलाई बलियो बनाउने परिणाम दिनुपर्छ,’ उनले उल्लेख गरे ।
नेतृत्वको कार्यशैलीमाथि प्रश्न
पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी नेतृत्वले सबै पक्षको भावना समेट्न नसकेको आरोप लगाए । उनले विशेष महाधिवेशनपछि पार्टीभित्र उत्पन्न असन्तुष्टि सम्बोधन गर्न नेतृत्व गम्भीर बन्नुपर्ने बताए ।
कार्कीले संगठनात्मक निर्णयहरू सीमित घेराभित्र केन्द्रित हुँदा कार्यकर्तामा निराशा बढेको दाबी गरे । उनले क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियामा देखिएका कमजोरी सुधार गर्न माग गर्दै त्यसले वास्तविक कार्यकर्ताको योगदानको उचित मूल्यांकन गर्न नसकेको टिप्पणी गरे ।
उनका अनुसार पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न नेतृत्वले फरक धारणा राख्ने समूहसँग नियमित संवाद गर्न आवश्यक छ । ‘कांग्रेसको इतिहास सहमति, सहकार्य र बहसको संस्कारमा आधारित छ । यही परम्परा कमजोर हुँदा संगठनमा दूरी बढ्ने खतरा हुन्छ,’ उनले भने ।
शीर्ष नेताहरू एउटै मञ्चमा
भेलामा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यता रहनेछ । साथै कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, एनपी साउद, बलबहादुर केसीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लामो समयदेखि विभिन्न राजनीतिक धार र समीकरणमा सक्रिय नेताहरू एउटै मञ्चमा देखिनु आफैंमा महत्त्वपूर्ण सन्देशका रूपमा हेरिएको छ । यसले कांग्रेसभित्र संवादको नयाँ वातावरण सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संगठन पुनर्जीवनको अभियान
भेलाका आयोजकहरूले यसलाई केवल राजनीतिक कार्यक्रम नभई संगठन पुनर्जीवनको अभियानका रूपमा प्रस्तुत गरेका छन् । उनीहरूका अनुसार स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म पार्टी संरचनालाई थप सक्रिय, जवाफदेही र कार्यकर्ता केन्द्रित बनाउने विषयमा पनि छलफल हुनेछ ।
पछिल्ला निर्वाचन परिणाम, युवापुस्ताको घट्दो आकर्षण, संगठनभित्रको निष्क्रियता तथा वैचारिक बहसको अभावजस्ता विषयमा समेत भेलाले धारणा तय गर्ने बताइएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, कार्यकर्ताको भूमिका बढाउने र निर्णय प्रक्रियालाई थप सहभागितामूलक बनाउने विषयलाई प्राथमिकताका साथ उठाइने आयोजकहरूको भनाइ छ ।
विराटनगरमा हुन लागेको यो बृहत् भेला कांग्रेसभित्रको शक्ति सन्तुलन, आगामी महाधिवेशनको तयारी र संगठनात्मक पुनर्गठनका सन्दर्भमा महत्वपूर्ण मोड बन्न सक्ने राजनीतिक वृत्तको विश्लेषण छ । विशेषगरी कोशी प्रदेशबाट उठ्न लागेको एकताको सन्देशले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ ।