काभ्रे बस दुर्घटना: कारण पत्ता लगाउन छानबिन समिति गठन, मृतक ८ जनाको सनाखत

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ १६:०२

काठमाडौँ– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा को संयोजकत्वमा समिति गठन गरेको जनाएको छ। समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मेघबहादुर तामाङ, राजु तामाङ, इन्द्रबहादुर तामाङ, फूलमाया तामाङ, माया तामाङ, प्यारीमाया तामाङ, बमबहादुर भण्डारी र सुमी तामाङ रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने मृतकका आफन्तसँग सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।