Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि जन्मिएको नेपाली कांग्रेसभित्र नै निरंकुश प्रवृत्ति बढ्न थालेको बताएका छन् ।
कोशी प्रदेशस्तरीय भेलालाई विराटनगरमा सम्बोधन गर्दै कोइरालाले लोकतन्त्र अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरे । उनले २०३३ सालमा बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको आवश्यकता आज झन् बढेर गएको उल्लेख गर्दै कांग्रेस अब त्यही नीति अवलम्बन गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई सुदृढ बनाउन देशका सबै शक्तिबीच सहकार्य र एकता अपरिहार्य छ ।’
कोइरालाले गगन थापासँग भएको छलफलका क्रममा आफूले उठाएका पाँचवटा प्रस्ताव स्वीकार गरिएको दाबी गर्दै प्रश्न गरे । ‘यदि ती विषयमा सहमति थियो भने अहिले सहमति हुनबाट के कुराले रोक्यो ?’ उनले प्रश्न गरे ।
उनले गगन थापा विराटनगरस्थित आफ्नै निवासमा आएर पार्टीका केही नेताकार्यकर्तालाई कारबाहीको चेतावनी दिएपछि आफू बाध्य भएर पाँचबुँदे प्रस्ताव सार्वजनिक गर्न पुगेको बताए ।
पार्टीभित्र सहमतिविना कांग्रेस एक कदम पनि अघि बढ्न नसक्ने उल्लेख गर्दै कोइरालाले भने, ‘गिरिजाप्रसाद कोइरालाले सधैं सहमति, सहकार्य र एकताको मार्ग अपनाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले पनि त्यही बाटो पछ्याउनुपर्छ । तर त्यसको सुरुआत आफ्नै पार्टीभित्रबाट हुन आवश्यक छ ।’
कोइरालाले आफू कुनै पनि परिस्थितिमा पार्टी फुट्न नदिने र पार्टी एकतालाई कायम राख्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।