साहित्य–शिक्षा सम्बन्धमाथि विराटनगरमा बहस, कविता वाचनले झनै थप्यो सिर्जनात्मक माहोल

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ २०:०३

विराटनगर / साहित्य र शैक्षिक क्षेत्रबीचको सम्बन्ध, चुनौती तथा सम्भावनाबारे केन्द्रित संवादसँगै कविता वाचन कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। नेपाली लेखक संघ मोरङले आयोजना गरेको कार्यक्रममा साहित्यले शिक्षामा र शिक्षाले साहित्यिक चेतनाको विकासमा खेल्ने भूमिकामाथि गहन छलफल गरिएको थियो।

संघकी मोरङ अध्यक्ष शुभलक्ष्मी लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा ‘साहित्य र शैक्षिक क्षेत्र : कति दूरी, कति नजिक’ विषयमा अन्तरसंवाद गरिएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार गंगा सुवेदी, कर्ण सञ्जय र भेषराज पोखरेलले साहित्य र शिक्षाबीचको अन्तरसम्बन्ध, वर्तमान चुनौती तथा आगामी पुस्तामा सिर्जनात्मक संस्कार विकासका विषयमा आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले पाठ्यक्रममा साहित्यको प्रभावकारी समावेश, पठन संस्कृतिको विकास तथा शैक्षिक संस्थामा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले साहित्यलाई केवल मनोरञ्जनको माध्यम नभई समाजको बौद्धिक, सांस्कृतिक र नैतिक विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गरेका थिए।

कार्यक्रमको सहजीकरण कवि सीमा आभासले गरेकी थिइन्। सहभागीहरूबीच भएको अन्तरक्रियामा साहित्यिक सिर्जना र औपचारिक शिक्षाबीचको दूरी घटाउन विद्यालय तथा कलेजस्तरमै साहित्यिक गतिविधि विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

संघकी सचिव लक्ष्मी पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विभिन्न कवि तथा स्रष्टाहरूले आफ्ना कविता वाचन गरेका थिए। कविता वाचन सत्रले कार्यक्रमलाई थप सिर्जनात्मक र भावनात्मक बनाएको सहभागीहरूले बताएका छन्।