Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसको संस्थापन इतर धारले कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबार आयोजना गरेको प्रदेश भेलाले पार्टीभित्रको शक्ति सन्तुलन, आगामी १५औँ महाधिवेशनको तयारी र नेतृत्वको प्रश्नलाई केन्द्रमा ल्याएको छ ।
‘वृहत् एकता, साझा प्रतिबद्धता’ नारासहित सम्पन्न भेलाले एकातिर कांग्रेसभित्र बढ्दो ध्रुवीकरणप्रति असन्तुष्टि प्रकट गरेको छ भने अर्कोतर्फ डा. शेखर कोइरालालाई इतर पक्षको साझा नेतृत्वका रूपमा स्थापित गर्ने प्रयास गरेको सन्देश दिएको छ ।

प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभापति उद्धव थापा भने अनुपस्थित रहे। भेलामा डा. शेखर कोइराला प्रमुख अतिथि थिए भने कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले सभापतित्व गरेका थिए ।

पार्टी सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकदेखि महाधिवेशन तयारीसम्मका विषयमा एकलौटी ढंगले अघि बढेको आरोप लगाइरहेका संस्थापन इतर समूहका नेताहरूले विराटनगर भेलालाई संगठनात्मक एकताको सन्देशसँगै राजनीतिक शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरे ।
शेखरको नेतृत्वमा एकताबद्ध हुन नेताहरूको आग्रह
भेलामा बोल्ने अधिकांश नेताहरूले पार्टीभित्र देखिएको विभाजनको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै डा. शेखर कोइरालाको नेतृत्वमा इतर धार एकताबद्ध हुनुपर्ने धारणा राखे ।
नेता बलबहादुर केसीले कांग्रेसलाई समेटेर अघि बढाउन सक्ने नेतृत्व शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै सबै पक्षले साथ दिनुपर्ने बताए ।
पूर्वमहामन्त्री सशांक कोइरालाले कांग्रेस व्यवहारतः विभाजित भइसकेको दाबी गर्दै पार्टी एकीकरणको नेतृत्व अब शेखर कोइरालाले गर्नुपर्ने बताए । उनले ठूलो समूहलाई बाहिर राखेर पार्टी सञ्चालन सम्भव नभएको भन्दै वर्तमान नेतृत्वमाथि प्रश्नसमेत उठाए ।
गच्छदारको सुझाव- ‘इगो त्यागेर फराकिलो बन्नुस्’
पूर्वउपसभापति विजयकुमार गच्छदारले भने शेखर पक्षलाई आत्मसमीक्षा गर्न सुझाव दिए। उनले व्यक्तिगत अहम् र समूहगत आग्रहबाट माथि उठेर पार्टीको बृहत्तर हितलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले शेखर कोइरालालाई “फराकिलो छातीका साथ सबैलाई समेटेर अघि बढ्न” आग्रह गर्दै कांग्रेसको विगतको विभाजनबाट शिक्षा लिनुपर्ने धारणा राखे ।
त्यसैगरी, सभापति गगन थापालाई पनि नेतृत्वमा विनम्रता अपनाउन र पार्टीका वरिष्ठ नेताहरूको अनुभवबाट सिक्न सुझाव दिए ।
‘एकताको भेला’ कि ‘वैकल्पिक ध्रुवको घोषणा’ ?
भेलामा सहभागी नेताहरूले कार्यक्रमलाई कांग्रेसभित्रको एकताको अभियानका रूपमा व्याख्या गरे पनि राजनीतिक वृत्तमा यसलाई संस्थापन इतर शक्तिहरूको साझा मञ्च निर्माणको संकेतका रूपमा हेरिएको छ ।
निवर्तमान केन्द्रीय सदस्य भीम पराजुलीले डा. शेखरलाई प्रमुख अतिथि बनाइनु आफैंमा एकताको सन्देश भएको बताए । कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले पनि संस्थापनको विपक्षमा रहेका विभिन्न समूहहरू एउटै धारमा उभिन सक्ने संकेत भेलाले दिएको बताए ।
तरुण दलका पूर्वकेन्द्रीय सदस्य नेत्र पौडेलले समेत इतर धारका सबै प्रमुख नेताहरूले शेखर कोइरालालाई स्वीकार गरिसकेको दाबी गरे ।
पार्टी फुटबारे चिन्ता, शेखरको आश्वासन
भेलाका अधिकांश वक्ताहरूले कांग्रेस विभाजनको दिशातर्फ धकेलिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। कतिपय नेताहरूले वर्तमान नेतृत्वमाथि पार्टीलाई चोइट्याउने प्रयास गरेको आरोपसमेत लगा ए।
यद्यपि, डा. शेखर कोइरालाले भने कुनै पनि परिस्थितिमा पार्टी फुट्न नदिने स्पष्ट सन्देश दिए । कांग्रेसभित्र सहमति, सहकार्य र एकता अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबै शक्तिलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता र मुलुकको राजनीतिक स्थिरता समेत कमजोर हुने बताए ।
महाधिवेशन, नेतृत्व र भविष्यको बहस
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि एनपी साउद, मिन विश्वकर्मा, आनन्द सन्तोषी राई, रामहरि खतिवडा, मोहन बस्नेत, सरिता प्रसाईं, गुरु बराल, उमेश थापा, केदार कार्की, वसन्त बस्नेन, देवराज तामाङ, दीपक चापागाईंलगायत नेताहरूले पार्टीको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै संगठनात्मक एकतामा जोड दिए।
विशेष महाधिवेशनपछि कांग्रेस दुई धारमा विभाजित भएको, पार्टी वैचारिक र संगठनात्मक संकटबाट गुज्रिरहेको तथा आगामी १५औँ महाधिवेशनअघि सहमतिको वातावरण निर्माण गर्नुपर्ने धारणा अधिकांश वक्ताहरूको थियो ।
राजनीतिक सन्देश
विराटनगर भेला औपचारिक रूपमा ‘एकता’का नाममा आयोजित भए पनि यसले कांग्रेसभित्रको शक्ति पुनर्संरचना, आगामी महाधिवेशनको नेतृत्व प्रतिस्पर्धा र संस्थापन इतर पक्षको साझा रणनीतिबारे स्पष्ट राजनीतिक संकेत दिएको देखिन्छ । विशेषगरी, विभिन्न समूहका नेताहरू एउटै मञ्चमा उभिएर डा। शेखर कोइरालालाई केन्द्रमा राख्नुले इतर धार आगामी दिनमा साझा नेतृत्वको खोजीमा रहेको सन्देश दिएको विश्लेषण भइरहेको छ ।
महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा विराटनगर भेला कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरणमा नयाँ अध्यायको सुरुआत बन्न सक्ने संकेत देखिएको छ ।