Breaking Nepal

विराटनगर / मैथिली भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै मोरङको सुनवर्षी नगरपालिका निवासी कलाकार तथा सञ्चारकर्मी वीरेन्द्रकुमार साह सम्मानित भएका छन् ।
मैथिली विकास अभियान र मैथिली अनलाइनले आयोजना गरेको मैथिली लोकगीत प्रतियोगिताको फाइनल समारोहका अवसरमा विराटनगरस्थित गुरुकुलमा आयोजित कार्यक्रममा शाहलाई सम्मान प्रदान गरिएको हो ।
आयोजकका अनुसार मैथिली भाषा, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा उनले पुर्याएको निरन्तर योगदानको कदरस्वरूप सम्मान गरिएको हो । शाहले लामो समयदेखि मैथिली सांस्कृतिक गतिविधि, सञ्चार तथा कलाकारितामार्फत समुदायमा भाषा र संस्कृतिप्रतिको जागरण फैलाउँदै आएका छन् ।
साहले हालसम्म दर्जनौं मैथिली म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । ‘दिल तोडनी छै तु’, ‘जाइ छै त’, ‘जो हमर जान लेने हो’ र ‘बिदेश हम जायब कमाईला रुपैया’ लगायत लोकप्रिय गीतका भिडियोमा उनको अभिनय चर्चित मानिन्छ ।
सम्मान ग्रहणपछि साहले प्राप्त सम्मानलाई आफ्नो कार्यप्रतिको विश्वास र मूल्यांकनका रूपमा लिएको प्रतिक्रिया दिए । उनले मैथिली भाषा, साहित्य र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि आगामी दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मैथिली भाषा, साहित्य, संगीत तथा सांस्कृतिक क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताको फाइनल चरणसँगै सांगीतिक प्रस्तुति तथा सम्मान कार्यक्रमसमेत सम्पन्न भएको आयोजकले जनाएको छ ।