Breaking Nepal

विराटनगर / विराटनगरका प्रतिष्ठित उद्योगी तथा समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा सोमबार विराट टिचिङ अस्पतालमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।
वि.सं. १९८७ साल वैशाख १ गते जन्मिएका साह उद्योग, सामाजिक सेवा तथा धार्मिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । उनले विभिन्न सामाजिक तथा धार्मिक संस्थामार्फत समुदाय विकास, सामाजिक एकता र सेवामूलक कार्यमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
साह अखिल नेपाल वैश्य सेवा समिति विराटनगरका संस्थापक तथा पूर्वअध्यक्ष थिए । त्यसैगरी पञ्चमुखी हनुमान मन्दिर तथा श्रीराम दरबार सञ्चालक समितिका पूर्वअध्यक्ष, शीतल धर्मशालाका पूर्वअध्यक्ष तथा वैश्य समाजका वरिष्ठ सल्लाहकारका रूपमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
समाजसेवा र धार्मिक क्षेत्रको विकासमा पुर्याएको योगदानका कारण साह विराटनगरमा सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए । उनका दुई छोरा र एक छोरी छन् ।
साहको सोमबार नै विराटनगरस्थित हाटखोला विश्रान्ति घाटमा अन्त्येष्टि गरिएको छ। उनको निधनले विराटनगरको सामाजिक तथा व्यावसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।