झापामा सिटौला–शर्मा ‘वान टु वान’ संवाद, कांग्रेसभित्र एकताको सन्देश

Breaking Nepal

मंगलबार ,असार २ , २०८३ १७:५३

झापा /  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र उपसभापति विश्वप्रकाश शर्माबीच झापामा भेटवार्ता भएको छ । दुवै नेताबीच पार्टीको समसामयिक अवस्था र संगठनात्मक विषयमा केन्द्रित अनौपचारिक संवाद भएको स्रोतले जनाएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनपछि शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्न धुलाबारीस्थित भण्डारी निवास पुगेका सिटौला र शर्माबीच छुट्टै कोठामा ‘वान टु वान’ वार्ता भएको हो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईका अनुसार भेटका क्रममा दुई नेताबीच केही समय एकान्तमा कुराकानी भएको थियो । वार्ताको विषयवस्तुबारे आफूहरूलाई जानकारी नभएको उल्लेख गर्दै उनले उपसभापति शर्माले पार्टीभित्रको एकता सुदृढ बनाउन सबै तहका नेताहरूले पहल गर्नुपर्ने धारणा व्यक्त गरेको बताए ।

“पार्टीभित्र एकता कायम गर्न सबैले अग्रसर हुनुपर्छ भन्ने सन्देश उपसभापति शर्माले दिनुभएको थियो,” हुँमागाईले भने ।

भण्डारी निवासमा सिटौलासँगै कांग्रेसकी पूर्व केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला उपसभापति केशवराज पाण्डे, सचिव हुँमागाई, बिर्तामोड नगरसभापति भोजराज सिटौला, तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती तथा नेविसंघ झापाका सभापति सञ्जय निरौला पनि पुगेका थिए ।

पछिल्लो समय कांग्रेसभित्र आन्तरिक एकता र नेतृत्व तहबीच समन्वयको आवश्यकता विषयले चर्चा पाइरहेका बेला झापामा भएको सिटौला–शर्मा संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।